पर्सामा गाँजा तस्करी बढ्दो, १६७ किलोसहित पाँच भारतीय पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ९, मंगलबार (४९ मिनेट अघि)
  • ३९ पटक पढिएको
पर्सामा गाँजा तस्करी बढ्दो, १६७ किलोसहित पाँच भारतीय पक्राउ

वीरगञ्ज, ०९ भदौ। पर्सासँग जोडिएको भारतीय सीमावर्ती क्षेत्रमा भारतीय प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय प्रहरीले विशेष सूचनाका आधारमा गरेको कारबाहीका क्रममा दुईवटा सवारीसाधनमा लुकाएर राखिएको १६२ किलो गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।

बलथर थाना प्रहरीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा दुईवटा सवारीसाधनबाट उक्त परिमाणको गाँजा बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भङ्गाहा थाना क्षेत्रको पिपरपाती गाउँ निवासी २८ वर्षीय सबजाद मियाँ, नगरदेही निवासी ४० वर्षीय रेदिल आलम र ३५ वर्षीय सुग्रीव प्रसाद रहेका छन् ।

बलथर थानाध्यक्ष ओपी गुप्ताका अनुसार पक्राउ परेका तीनैजनाले दुईवटा सवारीसाधन प्रयोग गरी गाँजा ओसारपसार गरिरहेका थिए । प्रहरीले गाँजासहित प्रयोग गरिएका दुवै सवारीसाधन नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

यसैबीच, पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वास्थित सशस्त्र प्रहरी बल, नेपाल एफओबी जयमङ्गलापुरबाट खटिएको सुरक्षा टोलीले समेत गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई शङ्का लागेर रोकी जाँच गर्दा मोटरसाइकलको ट्याङ्की तथा सिटमुनि लुकाएर राखिएको अवस्थामा पाँच किलो गाँजाजस्तो देखिने प्रतिबन्धित लागूऔषध बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार पक्राउ परेका दुवै भारतीय नागरिक, बरामद लागूऔषध तथा मोटरसाइकललाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

दुवै घटनामा गरी १६७ किलो गाँजासहित पाँच जना भारतीय नागरिक पक्राउ परेका छन् । सीमावर्ती क्षेत्रमा लागूऔषधको ओसारपसार नियन्त्रणका लागि नेपाल तथा भारतीय सुरक्षा निकायले निगरानी र कारबाहीलाई तीव्रता दिइरहेका छन् ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस