
पर्सा , ३० भदौ। पर्सा र बाराका विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको नौ उपसचिव र ५२ अधिकृतको सरुवामा पर्सा र बाराका प्रमुख प्रशासकीय अधिकृतहरू पनि परेका हुन्।
सरुवा सूचीअनुसार पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीवकुमार यादवको धोबिनी गाउँपालिकामा सरुवा भएको छ। उनको स्थानमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहालाई सखुवा प्रसौनी पठाइएको छ। चक्रघट्टा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत शाखा अधिकृत विनय गुप्तालाई पठाइएको छ।
त्यस्तै, धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण खतिवडाको जिराभवानी गाउँपालिकामा सरुवा भएको छ। जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमितकुमार गिरीको भने गृह मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ।
पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताको पनि गृह मन्त्रालयअन्तर्गत सरुवा भएको छ। उनको स्थानमा रौतहटको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद नवाज हुसैनलाई पठाइएको छ।
पर्साकै जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवको बाराको विश्रामपुर गाउँपालिकामा सरुवा भएको छ। विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिलप्रसाद केशरीलाई जगरनाथपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।
त्यसैगरी छिपहरमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीवकुमार साहको सर्लाहीको पर्सा गाउँपालिकामा सरुवा भएको छ। छिपहरमाईमा उनको स्थानमा सर्वजितकुमार झालाई पठाइएको छ।
पकहाँ मैनपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको गृह मन्त्रालयअन्तर्गत सरुवा भएको छ। उनको स्थानमा जिल्ला समन्वय समिति पर्सामा कार्यरत सुमितकुमार सिंहलाई पठाइएको छ।
बाराका स्थानीय तहमा पनि व्यापक फेरबदल
बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा गरिएको छ।
परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्नाकुमार रौनियारको फेटा गाउँपालिकामा सरुवा भएको छ। फेटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाको भने सिरहाको नवराजपुर गाउँपालिकामा सरुवा गरिएको छ।
परवानीपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बाराकै देवताल गाउँपालिकामा कार्यरत कृष्णनन्दन रायलाई पठाइएको छ। देवताल गाउँपालिकामा भने रौतहटको बौद्धिमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरीलाई सरुवा गरिएको छ।
यसैगरी प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवको गृह मन्त्रालयअन्तर्गत सरुवा भएको छ। उनको स्थानमा रौतहटको देवाही गोनाही नगरपालिकामा कार्यरत पवनकुमार केशरीलाई पठाइएको छ।
करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको भूमि व्यवस्था तथा अभिलेख विभाग, काठमाडौंमा सरुवा भएको छ। करैयामाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रमेश अधिकारीलाई पठाइएको छ।
पर्सा र बाराका स्थानीय तहमा भएको उक्त सरुवासँगै विभिन्न गाउँपालिकाको प्रशासनिक नेतृत्वमा फेरबदल भएको छ। नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै स्थानीय तहको प्रशासनिक तथा सेवा प्रवाहमा समेत प्रभाव पर्ने अपेक्षा गरिएको छ।
