पसल चोरी प्रकरणमा जीतपुरसिमराबाट १४ वर्षीय किशोर पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १६, शुक्रबार (१६ घण्टा अघि)
  • ५८ पटक पढिएको
पसल चोरी प्रकरणमा जीतपुरसिमराबाट १४ वर्षीय किशोर पक्राउ

बारा,१६ असोज। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ पाडा बजारमा पसल चोरी भएको घटनामा प्रहरीले एक १४ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी सहायक निरीक्षक विष्णुहरि घिमिरेको कमाण्डमा खटिएको गस्ती टोलीले बुधबार राति करिब १ः३० बजे जीतपुरसिमरा–६ का ती किशोरलाई पाडा बजारको पूर्वतर्फको सर्भिस लेनमा शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बकुलियाबाट जीतपुर चोकतर्फ जाँदै गरेका किशोरलाई चेकजाँच गर्दा उनको साथबाट १७ हजार ३ सय रुपैयाँ नगद तथा विभिन्न सामग्री बरामद भएको थियो।

बरामद नगदमा ५०० दरका ३ थान, १०० दरका ९१ थान, ५० दरका ९० थान, २० दरका ५९ थान, १० दरका ८२ थान र ५ दरका ४४ थान नोट रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी उनको साथबाट एक थान पुलास, एक थान रिन्च, मोबाइल चार्जरको टाउको, एक थान ब्लुटुथ र दुई प्याकेट सिन्कासमेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जीतपुरका शम्भु साहले सञ्चालन गर्दै आएको ‘संगम कोल्ड ड्रिम्स’ पसलमा जस्ताको छानो हटाएर चोरी भएको थियो। प्रारम्भिक अनुसन्धानमा पसलको छानोमा चढेर करिब ८ फिट लम्बाइ र ३ फिट चौडाइको जस्ता हटाई पसलभित्र प्रवेश गरी नगद तथा सामान चोरी गरिएको खुलेको प्रहरीले जनाएको छ।

चोरीको घटनासँग सम्बन्धित सामग्री किशोरको साथबाट बरामद भएपछि उनलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जीतपुरमा राखिएको छ।

प्रहरीले किशोरको घटनामा संलग्नता तथा उनको साथबाट बरामद नगद र सामग्रीको स्रोतबारे थप अनुसन्धान भइरहेको जनाएको छ। किशोरको संलग्नता पुष्टि हुन भने अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस