पुष्पा–२ लाई चुनौती दिँदै रौतहटमा काठ तस्करीको नयाँ शैली, खोलामा काठ बगाएर नेपाल भित्र्याउने प्रयास

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३०, मंगलबार (३० मिनेट अघि)
  • ३९ पटक पढिएको
पुष्पा–२ लाई चुनौती दिँदै रौतहटमा काठ तस्करीको नयाँ शैली, खोलामा काठ बगाएर नेपाल भित्र्याउने प्रयास

रमेश कुमार यादव
रौतहट, ३० भदौ। दक्षिण भारतीय चर्चित फिल्म पुष्पा–२ मा देखाइएका तस्करीका शैलीलाई समेत चुनौती दिने गरी रौतहटमा काठ तस्करीको नयाँ तरिका प्रयोग हुन थालेको पाइएको छ। विगतमा साइकल, बैलगाडा, ट्र्याक्टर, स्कारपियो तथा मोटरसाइकललगायतका सवारीसाधन प्रयोग गरी चोरी–तस्करी हुँदै आएकोमा पछिल्लो समय तस्करहरूले जंगलबाट साल जातका रुख काटेर गोलिया तथा चिरान काठ बनाई खोलाको पानीमा बगाउँदै तस्करी गर्ने प्रयास गर्न थालेको देखिएको छ।

यसै क्रममा डिभिजन वन कार्यालय रौतहटको टोलीले लालबकैया खोलाबाट बगाएर ल्याइएको ठूलो परिमाणको सालको काठ बरामद गरेपछि काठ तस्करीको यस्तो नयाँ शैली सार्वजनिक भएको हो।

वन कार्यालयको टोलीले लालबकैया खोलाबाट २७.४७ क्युबिक फिट सालको काठ बरामद गरेको जनाएको छ। बरामद काठमध्ये साल जातका चार थान गोलिया र एक थान चौपाटा रहेका छन्। पाँच थान काठको कुल परिमाण २७.४७ क्युबिक फिट रहेको वन कार्यालयले जनाएको छ।

जंगल क्षेत्रमा सालका रुख काटेर काठलाई खोलासम्म पुर्‍याउने र त्यसपछि पानीको बहावसँगै बगाएर निश्चित स्थानमा निकाल्ने तथा त्यहाँबाट पुनः सुरक्षित स्थानतर्फ लैजाने उद्देश्यले यस्तो तरिका अपनाइएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

सवारीसाधन प्रयोग गर्दा वन कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयको निगरानीमा पर्ने सम्भावना बढी हुने भएकाले तस्करहरूले पछिल्लो समय नयाँ–नयाँ उपाय अपनाउन थालेको देखिन्छ। खोलाको पानीमा काठ बगाउने तरिका अपनाउँदा टाढाबाट हेर्दा काठ प्राकृतिक रूपमा बगेर आएको जस्तो देखिने भएकाले तस्करहरूले यसलाई कम जोखिमयुक्त माध्यमका रूपमा प्रयोग गरेको हुन सक्ने वन क्षेत्रका जानकारहरूको भनाइ छ।

रौतहटका विभिन्न वन क्षेत्र तथा सीमावर्ती भूभागमा साललगायतका बहुमूल्य काठ चोरी–तस्करीको जोखिम रहँदै आएको छ। वनबाट अवैध रूपमा रुख काट्ने, काठलाई गोलिया तथा चिरानमा परिणत गर्ने र विभिन्न माध्यमबाट बजारसम्म पुर्‍याउने क्रम रोक्न वन कार्यालयले निगरानी तथा गस्ती बढाउँदै आएको जनाएको छ।

लालबकैया खोलाबाट ठूलो परिमाणमा काठ बरामद भएपछि वन क्षेत्रको सुरक्षा र खोलाको माध्यमबाट हुने सम्भावित काठ तस्करी नियन्त्रणमा थप चुनौती थपिएको देखिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा काठ कुन वन क्षेत्रबाट काटिएको हो भन्ने विषयमा थप अनुसन्धान आवश्यक देखिएको छ।

काठ बरामद गरिए पनि यसको पछाडि संलग्न समूह, काठ काटिएको सम्भावित वन क्षेत्र, खोलामा कसरी पुर्‍याइएको थियो र कहाँ लैजाने योजना थियो भन्ने विषयमा अनुसन्धानबाट थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।

वन स्रोतको अवैध दोहन रोक्न स्थानीय तह, वन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय बासिन्दाबीच समन्वय र निगरानी अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ। विशेषगरी खोलानाला तथा वन क्षेत्र जोडिएका संवेदनशील स्थानमा नियमित गस्ती र निगरानी बढाउन सके काठ चोरी–तस्करी नियन्त्रणमा सहयोग पुग्ने देखिन्छ।

ताजा अपडेट

खोजी गर्नुहोस