
काठमाडौं ,१६ असोज। सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा सार्वजनिक लेखा समितिको मौनताप्रति प्रश्न उठाउँदै घटनाको गहन अनुसन्धान गर्न माग गरेका छन्।
शुक्रबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले कपडा खरिद प्रकरणमा अनियमितताको विषय उठिसक्दा पनि समितिले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उक्त प्रकरणसम्बन्धी कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरिएको भए पनि फाइल प्राप्त भए-नभएको जानकारीसमेत समितिका सदस्यहरूलाई नदिइएको भन्दै उनले प्रश्न गरे। आफूले व्यक्तिगत रूपमा चासो दिएर विषयको खोजी तथा छानबिन गर्दा गम्भीर त्रुटिहरू फेला पारेको दाबी गर्दै उनले सम्बन्धित प्रमाण बुझाउने निकाय र प्रक्रियाबारे समितिका सभापतिले स्पष्ट पार्नुपर्ने बताए।
विगतको सुडान काण्डको प्रसङ्ग उल्लेख गर्दै उनले त्यसबेला छानबिन समिति गठन गरी प्रतिवेदन तयार पारिएको र मुद्दा दायर भएपछि भ्रष्टाचार प्रकरणमा चार जना प्रहरी महानिरीक्षकहरू थुनिएको स्मरण गराए। सार्वजनिक लेखा समितिले कुनै पनि बहानामा आलटाल गर्न र खुट्टा कमाउन नमिल्ने भन्दै प्रहरी महानिरीक्षकले ‘तिमीहरूको पनि हेरौँला’ भनेकै कारण समिति डराएको हो कि भन्दै उनले प्रश्न गरे।
समितिमा विधिवत् रूपमा उजुरी परेको र छानबिनका क्रममा अनियमिततासम्बन्धी प्रमाण फेला परेको अवस्थामा आवश्यक सिफारिससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउनुपर्ने उनको भनाइ थियो। म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा छानबिन गर्न समितिको पूर्ण बैठकबाट निर्णय गर्ने वा छुट्टै उपसमिति गठन गर्ने भन्ने विषयमा स्पष्ट निर्णय लिन उनले सभापतिसँग माग गरे।
सार्वजनिक लेखा समितिको गरिमा र प्रभावकारिता कायम राख्दै समितिले जनताप्रति जवाफदेही भएर काम गर्नुपर्नेमा जोड दिँदै उनले समितिले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसके आफूहरू त्यसको जिम्मेवारी लिनसमेत तयार रहेको स्पष्ट पारे।
