प्रतिगमनविरुद्ध संघर्षका लागि तयार रहन ओलीको निर्देशन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १, सोमबार (६ दिन अघि)
  • ५१ पटक पढिएको
प्रतिगमनविरुद्ध संघर्षका लागि तयार रहन ओलीको निर्देशन

वीरगञ्ज, ०१ भदौ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई प्रतिगमनका विरुद्धको आन्दोलनको तयारी गर्न निर्देशन दिएका छन्।

झापामा आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’ शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुन पनि कार्यकर्तालाई आग्रह गरे।स्थानीय तहको निर्वाचनमा हरेक वडा र क्षेत्रमा जित हासिल गर्ने उद्देश्यका साथ तयारी थाल्न आग्रह गर्दै अध्यक्ष ओलीले कार्यकर्ताहरूलाई अनावश्यक हल्लाको पछाडि नलाग्न र पार्टीको लक्ष्यमा अडिग रहनसमेत आग्रह गरे। पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै अध्यक्ष ओलीले गुटबन्दीले पटक–पटक पार्टीलाई क्षति पु¥याएको स्मरणसमेत गरे।

पार्टीको हितविपरित बोल्ने र अनुशासनहीन गतिविधि गर्नेहरूलाई सम्झाउन र बुझाउन समेत निर्देशन दिँदै अध्यक्ष ओलीले संगठन सुदृढीकरणका क्रममा आवश्यकताअनुसार कमिटी र जनसंगठनहरूको पुनर्गठन र पुनर्जागरण गरिने स्पष्ट पारे। तर, पुनर्गठनको आवरणमा नेतृत्व विरुद्ध षड्यन्त्र गर्ने प्रवृत्तिप्रति भने उनले चेतावनी दिए।

अध्यक्ष ओलीले ‘आफैं जागौं र अरूलाई पनि जगाऔं’ भन्ने मूल मन्त्रका साथ वास्तविक जागरण अभियानमा लाग्न कार्यकर्ताहरूलाई आह्वान गरे। पार्टीलाई एकतावद्ध बनाउँदै प्रतिगमनका विरुद्धको आन्दोलन र निर्वाचनको तयारीलाई नै मुख्य प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो।

निर्वाचनमा हार व्यहोर्दैमा मैदान छाडेर भागिँदैनः ओली

यसैगरी अध्यक्ष ओलीले मुलुकको संविधान रक्षा, लोकतन्त्रको सुदृढीकरण र मौलिक संस्कृतिको जगेर्नाका लागि आफ्नो पार्टी अविचलित रूपमा अगाडि बढ्ने स्पष्ट पारेका छन्।

देशमा व्याप्त गलत क्रियाकलापको प्रतिवाद गर्न सबै नेपाली नागरिक सचेत हुनुपर्नेमा जोड दिँदै उनले यो देश नेपालीहरूको भएकाले यसलाई सही बाटोमा डो¥याउनु सबैको दायित्व भएको जिकिर गरे। मुलुकमा शान्ति स्थापना, लोकतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि एमालेले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताउँदै उनले गत निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई स्वाभाविक रूपमा लिँदै हारबाट निराश नहुन कार्यकर्तालाई आग्रह गरे। चुनावमा नराम्रोसँग हार व्यहोरेको स्वीकार गरेका ओलीले तर हारपछि मैदान छोडेर भाग्ने एमालेको प्रवृत्ति नभएको स्पष्ट पारेका थिए।

एकपटक पछारिँदैमा अखडा छोडेर भाग्नेले कुस्ती खेल्न नसक्ने र जुरुक्क उठेर पुनः चुनौतीको सामना गर्ने नै विजयी हुने उनको भनाई थियो। एमाले कुनैपनि चुनौतीपूर्ण परिस्थितिको सामना गर्न सक्षम रहेको दाबी गर्दै उनले पार्टी भगौडा नभई परिस्थितिसँग जुधेर अगाडि बढ्ने शक्ति भएको उल्लेख जिकिर गरे।

अध्यक्ष ओलीले देशको सभ्यता, संस्कार र संस्कृतिलाई फर्काउँदै मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने जिम्मेवारी नेकपा एमालेको काँधमा रहेकोसमेत स्पष्ट पारे।

आन्तरिक विषय सडकमा ल्याउनु अनुशासनहीनता र अराजकता हो 

जागर अभियानको शुभारम्भकै अवसरमा आयोजित कार्यक्रममा उनले पार्टीभित्रका आन्तरिक विषयलाई सामाजिक सञ्जालमा ल्याउने वा सार्वजनिक रूपमा हस्ताक्षर संकलन गर्ने कार्यलाई अनुशासनहीनता र अराजकताको संज्ञा दिए।

पार्टीको विधि र पद्धतिभन्दा बाहिर गरिने कुनैपनि गतिविधि मान्य नहुने स्पष्ट पार्दै अध्यक्ष ओलीले नेतृत्वप्रति असन्तुष्टि भए वा अध्यक्ष परिवर्तन गर्नुपर्ने लागे पार्टीका सम्बन्धित कमिटीहरूमा छलफल गर्नुपर्नेमा जोड दिए। पार्टीभित्र लोकतन्त्र रहेको र छलफल गर्न पाइने तर सामाजिक सञ्जालमा लेखेर वा बाहिर हस्ताक्षर संकलन गरेर अध्यक्ष हटाउन खोज्नु पार्टीको पद्धति नभएको दाबी गरे।

यस्तो प्रवृत्ति अनुशासनहीनता भएकाले पार्टीमा सह्य नहुने ओलीको चेतावनी थियो। विवाह र सम्बन्ध विच्छेदको उदाहरण दिँदै अध्यक्ष ओलीले कुनैपनि सम्बन्ध वा जिम्मेवारीबाट अलग हुनका लागि निश्चित प्रक्रिया र विधि हुने उल्लेख जिकिर गरे। विवाह जस्तो पवित्र बन्धनमा बाँधिएकाहरूले पनि पछि चित्त नबुझे विधिपूर्वक सम्बन्ध विच्छेद गर्न पाउने बताउँदै पार्टीमा पनि कसैलाई केही कुरा मन परेन भने छोड्ने वा परिवर्तन गर्ने अधिकार रहेको अध्यक्ष ओलीको जिकिर थियो। तर, त्यसको एउटा मर्यादा र विधि हुने उनको भनाई छ। पार्टीका नेता तथा कार्यकर्ताहरूले पार्टीको विचार र सिद्धान्त बोक्नुपर्ने बताउँदै उनले आन्तरिक विषयलाई बजारमा लगेर तमासा देखाउनु र विरोधीलाई हँसाउनु गलत भएको टिप्पणी गरे।

आफू व्यक्तिगत रूपमा कसैको आलोचना नगरेर गलत प्रवृत्तिको विरुद्धमा रहेको स्पष्ट पार्दै अध्यक्ष ओलीले पार्टी अध्यक्षको हैसियतमा आफू जुनसुकै आलोचना सुन्न तयार रहेको बताए। कमी–कमजोरी भए सच्याएर अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले विशेषगरी माथिल्लो तहका नेताहरूले आफ्नो आचरण र व्यवहारमा सुधार ल्याउनुपर्नेमा जोड दिएका थिए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस