
रौतहट, १२ जेठ। रौतहटको यमुनामाई गाउँपालिका–५ स्थित श्री यमुनामाई माध्यमिक विद्यालय झुनखुनवामा प्रधानाध्यापक पदको विवादले उग्र रूप लिँदा दुई शिक्षकबीच विद्यालयभित्रै कुटाकुट भएको छ । घटनापछि विद्यालयको शैक्षिक वातावरण तनावग्रस्त बनेको छ ।
मंगलबार बिहान नियमित पठनपाठन चलिरहेका बेला प्रधानाध्यापक पदका दाबेदार वीरेन्द्र यादव र वीरेन्द्र साहबीच विवाद भएको थियो । सामान्य भनाभनपछि विवाद चर्किँदै जाँदा दुवै शिक्षकबीच कार्यकक्षमै हात हालाहाल भएको प्रत्यक्षदर्शीले बताएका छन् । शिक्षकहरू नै भौतिक आक्रमणमा उत्रिएपछि विद्यार्थीहरू त्रसित बनेका थिए ।
घटनापछि आक्रोशित विद्यार्थीहरूले विद्यालय प्रशासनमा तालाबन्दी गर्दै विरोध जनाएका छन् । शिक्षकहरूकै व्यवहारका कारण विद्यालयको शैक्षिक मर्यादा कमजोर भएको भन्दै विद्यार्थीहरूले असन्तुष्टि व्यक्त गरेका हुन् । ‘हामी पढ्न आएका हौं, शिक्षकहरूको झगडा हेर्न होइन,’ एक विद्यार्थीले गुनासो गरे ।
स्थानीय अभिभावकहरूले भने गाउँपालिकाको अस्थिर नीतिका कारण विद्यालयमा समस्या बढ्दै गएको आरोप लगाएका छन् । उनीहरूका अनुसार प्रधानाध्यापक पदमा पटक–पटक फेरबदल हुँदा विद्यालयभित्र गुटबन्दी बढेको हो । गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा संयोजकको स्वार्थका कारण एउटै विद्यालयमा दुईजना प्रधानाध्यापक समानान्तर रूपमा सक्रिय हुन खोज्दा विवाद सिर्जना भएको स्थानीयको दाबी छ ।
घटनाबारे प्रतिक्रिया लिन गाउँपालिका अध्यक्ष मोहम्मद साउदसँग सम्पर्क गर्ने प्रयास भए पनि उनी सम्पर्कमा आएका छैनन् ।
लगातारको विवाद र तालाबन्दीका कारण विद्यालयको पठनपाठन प्रभावित भएको छ । स्थानीयले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् ।
