‘फुल इन्सुरेन्स छ’ भन्दै ट्राफिकलाई धम्क्याउने मदिरामत्त चालक पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २४, बुधबार (२ महिना अघि)
  • १३६ पटक पढिएको
‘फुल इन्सुरेन्स छ’ भन्दै ट्राफिकलाई धम्क्याउने मदिरामत्त चालक पक्राउ

रौतहट, २४ असार । रौतहटको चन्द्रनिगाहपुर–गौर सडकखण्डमा सवारी चेकजाँचका क्रममा ट्राफिक प्रहरीलाई नै मोटरसाइकल चढाइदिने धम्की दिने एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–५ निवासी गणेश साह कानु रहेका छन्। प्रहरीले दिएको जानकारीअनुसार उनी बिना हेल्मेट मदिरा सेवन गरेर मोटरसाइकल चलाइरहेका अवस्थामा ट्राफिक चेकिङमा परेका थिए।

चेकिङका क्रममा कानुले उल्टै आक्रोशित हुँदै, “गाडीको फुल इन्सुरेन्स गरेको छु, ट्राफिकमाथि नै गाडी चढाइदिन्छु” भन्दै धम्की दिएको आरोप छ। ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई नै ज्यानमाथिको धम्की दिएपछि तत्काल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरले जानकारी दिए।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डीएसपी रूपा लाबुङका अनुसार पक्राउ परेका कानुविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ।
मदिराको मातमा ‘फुल इन्सुरेन्स’ को धाक लगाएर कानुनलाई नै चुनौती दिन खोज्ने प्रयास भने अन्ततः प्रहरी हिरासतमा पुगेर टुंगिएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस