फ्लोर क्रसको आशंकापछि मुख्यमन्त्री यादवले विश्वासको मत कार्यक्रम स्थगित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २, शनिबार (५५ मिनेट अघि)
  • ३४ पटक पढिएको
फ्लोर क्रसको आशंकापछि मुख्यमन्त्री यादवले विश्वासको मत कार्यक्रम स्थगित

वीरगञ्ज, ०२ जेठ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रवार लिन तय गरिएको विश्वासको मत अन्ततः स्थगित गर्दै आगामी जेठ ८ गतेका लागि सारेका छन् । सत्तारुढ नेपाली काँग्रेसभित्रै फ्लोर क्रसको अवस्था देखिएपछि मुख्यमन्त्री यादवले तत्काल विश्वासको मत लिन नसकेका हुन् ।

शुक्रवार बिहान ११ बजे विश्वासको मत लिने गरी प्रदेश सभाको कार्यतालिका तय गरिएको थियो । तर आफ्नै दलका केही प्रदेश सांसद असन्तुष्ट देखिएपछि मुख्यमन्त्री यादव दिनभर सहमति जुटाउने प्रयासमा सक्रिय रहे । जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने अवस्था छ ।

तर अन्तिम समयमा प्रदेश सभाको कार्यसूची परिवर्तन गरिएको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्ष दुवै दलका सांसदहरूले असन्तुष्टि जनाएका थिए ।

प्रदेश सभा सचिवालयका अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकबाट सहमति जुटाउँदै शुक्रवार सातौँ अधिवेशनको पहिलो बैठकमा शुभकामना मन्तव्य मात्र गर्ने र सदन जेठ ८ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको हो ।

नेपाली काँग्रेसका करिब आधा दर्जन प्रदेश सांसदले मुख्यमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाएपछि निर्धारित समयभन्दा करिब चार घण्टापछि मात्रै बैठक बसेको थियो । यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले समेत मुख्यमन्त्रीलाई विश्वासको मत नदिने सङ्केत गरेपछि सरकार सङ्कटमा परेको चर्चा चलेको थियो ।

यद्यपि, जसपा नेपालका प्रदेश सांसद तथा पूर्व मुख्यमन्त्री लालबाबु राउतले आफूहरू सरकारकै पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले तत्काल सरकार परिवर्तनको खेलमा जसपा नरहेको बताएका छन् ।

उता, कार्यसूची अन्तिम समयमा परिवर्तन गरिएको विषयमा जनमत पार्टीले भने कडा आपत्ति जनाएको छ । जनमत पार्टीका प्रदेश सांसद सञ्जय कुमार यादवले सभामुखले नियमावली विपरीत “छापामार शैली” मा कार्यसूची हेरफेर गरेको आरोप लगाएका छन् । उनले सभामुखले कुन कानुनी आधारमा कार्यसूची परिवर्तन गरेको हो भन्ने प्रश्नसमेत उठाएका छन् ।

जनमतका मन्त्रीको ‘कुर्सी मोह’, जसपा नेपालभित्र पनि खटपट

प्रदेश सरकारमा जनमत पार्टीबाट सहभागी अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाज कल्याण मन्त्री वसन्त कुमार कुशवाहाले राजीनामा दिने चर्चा भए पनि व्यवहारमा त्यस्तो देखिएन । अर्थमन्त्री यादव बैठकमै उपस्थित भएनन् भने मन्त्री कुशवाहा विपक्षी दलतर्फको बेन्चमा बसे पनि राजीनामा भने दिएनन् ।

प्रदेश सभामा दुवै मन्त्रीका लागि सत्ता पक्ष र प्रतिपक्ष दुवै तर्फ छुट्टाछुट्टै कुर्सी व्यवस्था गरिएको थियो । तर उनीहरूको व्यवहारले जनमत पार्टीभित्र पनि अन्योल देखिएको टिप्पणी गरिएको छ ।

यसैबिच, हालै महन्त ठाकुर नेतृत्वको लोसपा नेपाल र जसपा नेपालको एकीकरणपछि प्रदेश सभामा पनि एकता प्रक्रिया अघि बढेको छ । तर लोसपाबाट निर्वाचित प्रदेश सांसद तथा पूर्व मन्त्री जितेन्द्र सोनलले आफू पनि संसदीय दलको नेता रहेको दाबी गर्दै सभामुखसँग छुट्टै कुर्सी व्यवस्थाको माग गरेका थिए ।

जसपा नेपालभित्र देखिएको आन्तरिक खटपटका कारण सभामुख राम अशिष यादवलाई सदन सञ्चालन गर्नसमेत कठिनाइ भएको बताइएको छ । जसपा नेपालकै एक पक्षले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने अडान लिएपछि राजनीतिक समीकरण थप पेचिलो बनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस