
वीरगञ्ज , ०४ भदौ। जेनजी पर्साले बलात्कारजस्तो जघन्य अपराधमा संलग्न दोषीलाई मृत्युदण्डको सजाय हुने कानुन बनाउन सरकारसँग माग गरेको छ।
जेनजी पर्साले बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्री बालेन शाहलाई ज्ञापनपत्र बुझाउँदै बलात्कारका घटनामा कडा कानुनी व्यवस्था गर्न माग गरेको हो।
जेनजी पर्साका संयोजक महादेव प्रसाद कुर्मीका अनुसार अहिले दुई तिहाइ बहुमतको सरकार रहेकाले संविधान संशोधनको प्रक्रिया अघि बढाएर बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डको सजाय हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।
“दुई तिहाइ बहुमतको सरकार भएकाले अब ढिलाइ नगरी द्रुत मार्गबाट संविधान संशोधन गरी बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डको सजाय हुने कानुन बनाउनुपर्छ,” संयोजक कुर्मीले बताए।
ज्ञापनपत्रमार्फत हालै बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्नसमेत माग गरिएको छ।
जेनजी पर्साले बालबालिका, महिला तथा किशोरीको सुरक्षा सुनिश्चित गर्न सार्वजनिक स्थल, विद्यालय तथा कार्यक्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाउनुपर्नेमा जोड दिएको छ। विशेषगरी महिला, किशोरी र बालिकाहरूको आवतजावत हुने स्थानमा प्रहरीको सुरक्षा गस्ती तथा निगरानी प्रभावकारी बनाउन प्रशासनसँग आग्रह गरिएको संयोजक कुर्मीले बताए।
बलात्कार तथा महिला हिंसाका घटना नियन्त्रणका लागि कानुनलाई कडा बनाउनुका साथै त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको जेनजी पर्साको भनाइ छ। सार्वजनिक स्थलमा सुरक्षा निगरानी बढाएर सम्भावित जोखिम न्यूनीकरण गर्नसमेत प्रशासनलाई आग्रह गरिएको छ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले उठाइएका माग तथा सुरक्षा चासोलाई सम्बन्धित निकायसम्म पुर्याउने र आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको जेनजी पर्साले जनाएको छ।
