बारागढीका कर्मचारीलाई चेतावनी : सम्पत्ति विवरण नबुझाए ५ हजार रुपैयाँ जरिवाना

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २, शनिबार (६ दिन अघि)
  • ५६ पटक पढिएको
बारागढीका कर्मचारीलाई चेतावनी : सम्पत्ति विवरण नबुझाए ५ हजार रुपैयाँ जरिवाना

बारा, ०२ साउन। बाराको बारागढी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को सम्पत्ति विवरण अनिवार्य रूपमा पेश गर्न सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीलाई निर्देशन दिएको छ।

गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै कानुनबमोजिम सम्पत्ति विवरण पेश गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको हो।

प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार मिश्रद्वारा जारी सूचनामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१), अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१(क) तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११० बमोजिम सार्वजनिक पद धारण गरेका व्यक्तिले प्रत्येक आर्थिक वर्षको सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने उल्लेख गरिएको छ।

सूचनाअनुसार गाउँपालिकाका सबै जनप्रतिनिधि तथा कर्मचारीले आर्थिक वर्ष २०८२÷०८३ को सम्पत्ति विवरण फाराम भरि खामबन्द गरी आवश्यक विवरण उल्लेख गर्दै २०८३ भदौ १० गतेभित्र प्रशासन शाखामा बुझाउनुपर्नेछ पत्र जारी गरेको छ।

गाउँपालिकाले तोकिएको समयभित्र सम्पत्ति विवरण पेश नगर्ने सम्बन्धित कर्मचारी तथा जनप्रतिनिधिलाई प्रचलित कानुनबमोजिम रु. ५ हजार जरिवाना लाग्ने चेतावनी दिएको छ।

यस्तै, सामुदायिक विद्यालयका कर्मचारीले सम्पत्ति विवरण शिक्षा शाखामा, स्वास्थ्य शाखाका कर्मचारीले स्वास्थ्य शाखामा तथा जनप्रतिनिधिले सम्बन्धित वडा सचिवमार्फत एकमुष्ट रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।

गाउँपालिकाले सम्पत्ति विवरण पेश गर्नु सार्वजनिक पदाधिकारीको कानुनी दायित्व भएकाले निर्धारित समयभित्र अनिवार्य रूपमा विवरण बुझाउन सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस