
बारा,०४ कात्तिक। सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा गरेको निगरानी तथा चेकजाँचका क्रममा करिब ७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वार्टर बाराअन्तर्गतका विभिन्न इकाइले सीमा क्षेत्रमा हुने अवैध चोरी–तस्करी तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरेको कारबाहीका क्रममा उक्त सामान बरामद गरेका हुन्।
कारबाहीका क्रममा सी.सु. गुल्म पिपरपाती, बी.ओ.पी. बरैनिया तथा सी.सु. गुल्म मटिअर्वाबाट कस्मेटिकजन्य सामग्री, मदिरा, किराना तथा हार्डवेयरका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। यसैगरी, अवैध ओसारपसारमा प्रयोग गरिएको आशंकामा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीका अनुसार बरामद गरिएका सामानको कुल मूल्य करिब ७ लाख रुपैयाँ रहेको छ।
बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।
सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध चोरी–तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित गस्ती, निगरानी र चेकजाँचलाई प्रभावकारी बनाउँदै आएको जनाएको छ। सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रण तथा राजस्व चुहावट रोक्ने उद्देश्यले यस्ता कारबाहीलाई निरन्तरता दिइने सशस्त्र प्रहरीले जनाएको छ।
