बारामा चट्याङ लाग्दा १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १८, बिहिबार (१२ घण्टा अघि)
  • ३९ पटक पढिएको
बारामा चट्याङ लाग्दा १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

बारा, १८ असार। बाराको महागढीमाई नगरपालिका–९, प्रिपरा बिर्तामा चट्याङ लाग्दा एक बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार साँझ करिब ५ बजे आफ्नै खेतबाट घर फर्किने क्रममा अचानक परेको चट्याङ लाग्दा स्थानीय कपिलदेव साहकी करिब १२ वर्षीया छोरी सन्जना कुमारी दासको घटनास्थलमै मृत्यु भएको हो।

उक्त घटनामा स्थानीय मन्टु दासकी करिब ३० वर्षीया श्रीमती सरिता देवी दास घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो। सामान्य उपचारपछि उनी डिस्चार्ज भएर घर फर्किएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको कमाण्डमा एउटा टोली तथा प्रहरी चौकी तेलकुवाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी फर्किएको जनाएको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस