‘बालेनको कदमले नयाँ आयाम थप्यो’ : प्रधानन्यायाधीश सिफारिसबारे मुख्यमन्त्री यादव

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २७, आईतबार (२ हप्ता अघि)
  • ८० पटक पढिएको
‘बालेनको कदमले नयाँ आयाम थप्यो’ : प्रधानन्यायाधीश सिफारिसबारे मुख्यमन्त्री यादव

जनकपुरधाम, २७ वैशाख। कृष्णप्रसाद यादव ले प्रधानमन्त्री बालेन्द्र शाह को प्रशंसा गर्दै प्रधानन्यायाधीश सिफारिसमा क्षमता र योग्यतालाई प्राथमिकता दिइएको बताएका छन् ।

कानुन दिवसका अवसरमा शनिबार जनकपुरधाममा आयोजित न्यायिक महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले परम्परागत वरीयता प्रणालीभन्दा माथि उठेर गरिएको निर्णय देशका लागि सकारात्मक हुने दाबी गरे ।

उनले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा गरिएको सिफारिसलाई नयाँ सोच र साहसिक कदमको रूपमा व्याख्या गर्दै “वर्षौंदेखि चलिआएको प्रथालाई तोड्दै प्रधानमन्त्री बालेनले गरेको सिफारिसले देशका लागि नयाँ आयाम थप्नेछ,” भने । उनले उक्त निर्णय भविष्यका लागि पनि सौभाग्यपूर्ण साबित हुन सक्ने धारणा व्यक्त गरे ।

मुख्यमन्त्री यादवले न्यायालयमा कार्यपालिकाको प्रभाव हुन नहुनेमा पनि जोड दिए । उनले कानुन कार्यान्वयनको प्रक्रियामा राजनीतिक हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गर्दै निष्पक्ष न्याय प्रणालीको आवश्यकता औंल्याए ।

उच्च अदालत जनकपुर अन्तर्गतका मधेश प्रदेशका आठवटै जिल्लाका इजलाशलाई निष्पक्ष र निर्भीक रूपमा फैसला सुनाउन आग्रह गर्दै उनले न्यायाधीशहरूलाई अपराधीलाई कारबाही र निर्दोषलाई संरक्षण गर्ने दायित्वप्रति सजग रहन आग्रह गरे ।

“अपराधी उम्किनु हुँदैन, तर निर्दोषले सजाय पनि भोग्न नपरोस्,” उनले भने ।

कानुन दिवसका अवसरमा आयोजित न्यायिक महोत्सवमा मधेश प्रदेशका आठवटै जिल्लाका न्यायाधीश, अदालतका कर्मचारी, कानुन व्यवसायी, सर्वसाधारण तथा कानुन संकायका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस