
जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा विभिन्न प्रकृतिका १५४ वटा अपराधका मुद्दा दर्ता भएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सबैभन्दा बढी सामाजिक अपराधतर्फ ७७ वटा मुद्दा दर्ता भएका छन्। यस्तै, संगठित तथा आर्थिक अपराधका २४, ज्यानसम्बन्धी ११, आत्महत्यासम्बन्धी ११, चोरी नौ, महिला तथा बालबालिकासम्बन्धी नौ, सवारी ज्यान पाँच र अन्य आठवटा मुद्दा दर्ता भएका छन्।
प्रहरीका अनुसार मुद्दाको अनुसन्धान तथा कारबाहीका क्रममा भदौ महिनामा १३८ जना प्रतिवादी पक्राउ परेका छन्। अदालतको फैसला कार्यान्वयनअन्तर्गत विभिन्न मुद्दामा फरार रहेका १०७ जना प्रतिवादीसमेत पक्राउ परेका छन्। उनीहरूबाट २४ वर्ष ३ महिना २८ दिन कैद भुक्तानका लागि पठाइनुका साथै १ करोड १४ लाख ८१ हजार ७५० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
लागूऔषधतर्फ २७ मुद्दा
लागूऔषध नियन्त्रणतर्फ भदौमा २७ वटा मुद्दा दर्ता गरी ४१ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सो क्रममा २२९ किलो ९३५ ग्राम गाँजा, ३५६ ग्राम ५१८ मिलिग्राम ब्राउन सुगर, ९ किलो ५७८ ग्राम चरेस र ३ ग्राम ७४० मिलिग्राम अफिमलगायत लागूऔषध बरामद गरिएको छ।
त्यस्तै, भन्सार छली तथा राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत १ करोड ९ लाख ९ हजार ५९५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी एक जनालाई पक्राउ गरिएको छ।
प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ २३ वटा ट्याक्टर नियन्त्रणमा लिएर १ लाख १५ हजार रुपैयाँ जरिवाना गरिएको छ। यस्तै, अवैध वन पैदावार नियन्त्रणतर्फ ४१ क्युबिक फिट काठ र १० वटा साइकलसहित चार जनालाई पक्राउ गरी २ लाख ९१ हजार १०० रुपैयाँ राजस्व दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
