भन्सार कडाइपछि रक्सौल व्यापार ८०% घटेको दाबी, तस्करी भने रोकिएन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २२, मंगलबार (१ घण्टा अघि)
  • ५८ पटक पढिएको
भन्सार कडाइपछि रक्सौल व्यापार ८०% घटेको दाबी, तस्करी भने रोकिएन

काठमाडौं, २२ वैशाख। नेपाल सरकारले भन्सार नियम कडाइका साथ कार्यान्वयन गर्न थालेपछि भारतीय सीमावर्ती बजार रक्सौलमा ठुलो आर्थिक प्रभाव परेको छ । वैशाख १ गतेदेखि सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार शुल्क लागू भएपछि नेपाली ग्राहकको आवागमन घट्दा बजार अहिले सुनसान जस्तै बनेको छ ।

लामो समयदेखि नेपाली ग्राहकमा निर्भर रक्सौल बजारमा करिब ७० प्रतिशत ग्राहक नेपालबाट आउने गरेका थिए । सीमावर्ती क्षेत्रका बासिन्दादेखि हेटौँडा, नारायणघाट, पोखरा र काठमाडौँसम्मका उपभोक्ताहरू विवाह, चाडपर्व तथा दैनिक उपभोग्य सामग्री किन्न रक्सौल पुग्ने गर्थे । तर भन्सार कडाइपछि सीमामा खटिएका सुरक्षाकर्मीले सय रुपैयाँमाथिका सामानमा भन्सार तिर्नुपर्ने नियम कडाइका साथ लागू गरेका छन् ।

सीमा जागरण मञ्चका अध्यक्ष तथा रक्सौलका स्थानीय व्यापारी महेश अग्रवाल ले बताएअनुसार बजारको करिब ८० प्रतिशत आर्थिक कारोबार घटेको छ । नेपाली ग्राहक घटेसँगै व्यापारिक गतिविधि ठप्प प्रायः भएको उनको भनाइ छ ।

“सामान्य नागरिकलाई भन्सार शुल्कको नाममा दुःख दिने तर ठुला अवैध कारोबारीलाई नियन्त्रण नगर्ने नीति प्रभावकारी हुन सक्दैन,” अग्रवालले भने । उनले कडाइका बाबजुद केही क्यारियर्समार्फत अवैध सामान ओसारपसार अझै जारी रहेको दाबी गरे ।

वीरगञ्ज–रक्सौल मुख्य नाकामा कडाइ गरिए पनि पर्साका अन्य खुला सीमा क्षेत्रमा भने पुरानै अवस्था कायम छ । त्यहाँबाट नेपाली ग्राहकले अझै सामान ल्याइरहेको देखिन्छ । स्थानीयहरूका अनुसार रातिको समयमा अवैध कारोबार झन् बढ्दो छ । सुरक्षाकर्मी र तस्करबिच मिलेमतो भएको आशङ्का पनि व्यक्त भइरहेको छ ।

सरकारको यो नीतिले रक्सौल जस्ता भारतीय बजारमा गिरावट ल्याएको छ भने अवैध कारोबार पूर्ण नियन्त्रणमा ल्याउन चुनौती थपिएको छ । सरोकारवालाहरूले प्रभावकारी अनुगमन, सन्तुलित नीति र खुला सीमाको दुरुपयोग रोक्न ठोस कदम चाल्न आग्रह गरेका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस