भन्सार छलेर ल्याइएको झण्डै १२ लाखको कपडा बरामद

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २१, आईतबार (१२ घण्टा अघि)
  • ४६ पटक पढिएको
भन्सार छलेर ल्याइएको झण्डै १२ लाखको कपडा बरामद

रौतहट, २१ असार। रौतहटमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले तीनवटा मोटरसाइकलसहित झण्डै १२ लाख रुपैयाँ बराबरको अवैध भारतीय कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं। ११ गण मुख्यालय रौतहटबाट खटिएको मोबाइल गस्ती टोलीले माधवनारायण नगरपालिका–१ दिपही क्षेत्रमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको कपडा बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार बीआर ०५ यू ३३७१, बीआर ०५ ए ८६६६ र बीआर ०५ ई ३५६४ नम्बरका भारतीय मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको विभिन्न प्रकारका कपडाको अनुमानित मूल्य ११ लाख ९२ हजार ५७० रुपैयाँ रहेको छ।

सशस्त्र प्रहरी बल नं। ११ गण रौतहटका प्रमुख एसपी रामहरी अधिकारीका अनुसार गस्ती टोली पुगेपछि तस्करहरू मोटरसाइकल र कपडा घटनास्थलमै छाडेर फरार भएका थिए।

बरामद कपडा तथा मोटरसाइकल आवश्यक कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको एसपी अधिकारीले जानकारी दिए।

सशस्त्र प्रहरीले पछिल्लो समय भारतसँग जोडिएका सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाएका कारण तस्करहरूले नरकटिया–बन्कुल नाका प्रयोग गरी भन्सार छली कपडा नेपाल भित्र्याउने प्रयास गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस