भारतबाट तस्करीका ४ हजार ५ सय कुखुराका चल्ला पर्सामा नष्ट

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ३१, आईतबार (१ घण्टा अघि)
  • ५२ पटक पढिएको
भारतबाट तस्करीका ४ हजार ५ सय कुखुराका चल्ला पर्सामा नष्ट

वीरगञ्ज, ३१ साउन। भारतबाट अवैध रूपमा तस्करी गरी नेपाल भित्र्याइएका प्रतिबन्धित भारतीय ब्रोइलर कुखुराका ४ हजार ५ सय चल्ला सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।

पर्साको बिन्दवासिनी गाउँपालिका–३ झौवागुठी क्षेत्रबाट सशस्त्र प्रहरीले भारतबाट तस्करी गरी ल्याइँदै गरेका चल्ला बरामद गरेको हो।

सशस्त्र प्रहरीको टोलीलाई देखेपछि तस्करीमा संलग्न व्यक्तिहरू चल्ला छाडेर फरार भएका थिए। त्यसपछि सशस्त्र प्रहरीले घटनास्थलबाट ४ हजार ५ सय वटा चल्ला नियन्त्रणमा लिएको थियो।

बरामद गरिएका प्रतिबन्धित चल्लालाई पशुपन्छी क्वारेन्टाइनका प्रतिनिधि, नेपाल प्रहरी तथा स्थानीयवासीको रोहबरमा खाल्डो खनेर पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

भारतबाट अवैध रूपमा कुखुराका चल्ला तथा अन्य पन्छीजन्य वस्तु नेपाल भित्र्याउँदा पशुपन्छीमा विभिन्न रोग फैलिन सक्ने जोखिम रहेकाले सीमावर्ती क्षेत्रमा निगरानी तथा नियन्त्रण अभियानलाई तीव्र बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि नियमित गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाउँदै लगिएको जनाइएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस