
रौतहट, २३ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका तत्कालीन कर्मचारी र एक निर्माण कम्पनीका सञ्चालकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०७६/७७ मा लक्ष्मीपुर-धर्मपुरघाटबाट बालुवा, गिट्टी र ग्राभेल उत्खननको ठेक्कामा ७८ लाख १५ हजार रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा आयोगले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर र लेखा प्रमुख कामेश्वर सहनीले ठेकेदार कम्पनी भाग्यमणी कन्स्ट्रक्सन प्रा.लि. सँग मिलेमतो गरी सरकारी राजस्वमा हानि-नोक्सानी पुर्याएको अख्तियारको भनाइ छ ।
उक्त कम्पनीले ठेक्का कबोल गरेको १ करोड ५ लाख रुपैयाँमध्ये जम्मा ४० लाख ५० हजार रुपैयाँ मात्र बुझाएको अवस्थामा, बाँकी रकमसमेत बुझाइसकेको भनी गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गरिएको अख्तियारको ठहर छ।
ठाकुर र सहनीले बदनियतपूर्वक टिप्पणी उठाएर ठेक्का स्वीकृत गरेको र मूल्य अभिवृद्धि कर बापतको १३ लाख ६५ हजार रुपैयाँसमेत नबुझाई नेपाल सरकार र नगरपालिकालाई नोक्सानी पुर्याएको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ ।
यसैगरी निर्माण कम्पनीका मुख्य सञ्चालक राधेश्याम साहले प्रचलित कानुन र ठेक्का सम्झौता विपरीत गैरकानुनी लाभ लिई राजस्व चुहावटमा मतियारको भूमिका निर्वाह गरेको भन्दै उनीविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
अख्तियारले तीनै जना प्रतिवादीविरुद्ध जनही ७८ लाख १५ हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गरेको छ। साथै बिगो रकमको दोब्बर जरिवानासमेत असुल गर्न माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
