मधेशमा बढ्यो उद्योग–व्यवसाय बन्द हुने क्रम, एक वर्षमै १ हजार ९३८ बन्द

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ९, मंगलबार (५४ मिनेट अघि)
  • ३८ पटक पढिएको
मधेशमा बढ्यो उद्योग–व्यवसाय बन्द हुने क्रम, एक वर्षमै १ हजार ९३८ बन्द

वीरगञ्ज, ०९ भदौ। आर्थिक मन्दीलगायतका कारण मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग तथा वाणिज्यतर्फका एक हजार ९३८ उद्योग–व्यवसाय बन्द भएका छन् ।

मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आवमा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फ एक हजार ११७ गरी कुल एक हजार ९३८ उद्योग–व्यवसायको लगत कट्टा भएको हो ।

यद्यपि सोही अवधिमा प्रदेशमा पाँच हजार ६८ वटा नयाँ उद्योग दर्ता भएका छन् । मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोका अनुसार नयाँ दर्तामध्ये पर्सामा सबैभन्दा बढी एक हजार १०१ उद्योग दर्ता भएका छन् ।

त्यस्तै धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

गत आवमा प्रदेशभर सात हजार ५४० उद्योग नवीकरण भएका छन् । उद्योगतर्फ नयाँ दर्ता र नवीकरणको गतिविधि देखिए पनि ठूलो सङ्ख्यामा उद्योगको लगत कट्टा हुनुले प्रदेशको औद्योगिक क्षेत्रमा चुनौती बढ्दै गएको देखिएको छ ।

सूचना अधिकारी महतोका अनुसार वाणिज्यतर्फ प्राइभेट फर्मका छ हजार १२२ वटा र साझेदारी फर्मका १८ वटा नयाँ दर्ता भएका छन् । सोही अवधिमा वाणिज्यतर्फ ११ हजार १४४ फर्म नवीकरण भएका छन् ।

नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरणलगायतका शीर्षकबाट गत आर्थिक वर्षमा पाँच करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ ।

महतोका अनुसार विश्वव्यापी रूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानीमा कमी, पूँजीको अभाव तथा स्थानीय तहमा समेत उद्योग दर्ता गराउने क्रम बढ्दै जानुलगायतका कारण उद्योगको लगत कट्टा हुने सङ्ख्या बढेको हो ।

आर्थिक गतिविधिमा आएको सुस्तता, लगानीको अभाव तथा व्यवसाय सञ्चालनमा बढ्दो लागतका कारण पुराना उद्योग–व्यवसाय बन्द हुने क्रम बढे पनि नयाँ उद्योग दर्ताको सङ्ख्याले मधेशमा लगानीको सम्भावना भने कायमै रहेको देखाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस