
जनकपुरधाम, ०१ असार। मधेश प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशत बढाएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरिएको बताएका हुन् ।
त्यस्तै अन्य कार्यसम्पादनको आधारमा समेत १० प्रतिशत प्रोत्साहन भत्ता दिने उनले बताए ।
मधेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति सहितको व्यवस्था गर्दै सुशासन कायम गर्ने बताए । त्यसका लागि ‘हेल्लो सीएम एप’ र ‘हेल्लो मुख्यमन्त्री टोल फ्री नम्बर’ सन्चालनमा ल्याउने अर्थमन्त्री भट्टराईले बताए ।
यसैगरी १८ देखि ३५ वर्षका युवाहरुलाई लक्षित गरी सयदिने रोजगार ग्यारेन्टी कार्यक्रम ल्याउन लागेको जानकारी पनि उनले दिए ।
प्रदेश प्रहरी भर्नाका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी उनले गराए ।
मधेश प्रदेश सरकारले विगतमा निकै लोकप्रिय बनेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’ भने परिमार्जन गरेको छ ।
