
वीरगञ्ज, १५ साउन। सुनसरीबाट सुरु भएको प्रदर्शन मधेस प्रदेशका विभिन्न जिल्लामा फैलिन थालेपछि सरकारले सुरक्षा व्यवस्था थप कडा बनाएको छ। सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै गृह मन्त्रालयले मधेस प्रदेशभर उच्च सुरक्षा सतर्कता अपनाएको छ।
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार नेपाल प्रहरीका एआईजी हिमालय श्रेष्ठ र सशस्त्र प्रहरी बल नेपालका एआईजी गणेश ठाडामगरलाई सुरक्षा अवस्थाको समन्वय, अनुगमन तथा आवश्यक निर्देशनका लागि जनकपुर खटाइएको छ। दुवै वरिष्ठ अधिकारी जनकपुर पुगेर सुरक्षा अवस्थाबारे प्रत्यक्ष अनुगमन गरिरहेका छन्।
प्रदर्शनको प्रभाव थप फैलिन सक्ने आकलनका आधारमा सप्तरीदेखि पर्सासम्मका मधेस प्रदेशका जिल्लामा सुरक्षा निगरानी बढाइएको छ। संवेदनशील क्षेत्रहरूमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको परिचालन सुदृढ बनाइएको सुरक्षा स्रोतले जनाएको छ।
यसैबीच बारा र पर्सा जिल्लाको सुरक्षा समन्वय तथा आवश्यक सुरक्षा रणनीति कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयले एसएसपी होबिन्द्र बोगटीलाई विशेष जिम्मेवारीसहित खटाएको छ। उनी यसअघि प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत थिए।
सुरक्षा निकायले प्रदेशभरको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। आवश्यकताअनुसार थप सुरक्षा जनशक्ति परिचालन गरिने तथा शान्ति–सुरक्षा कायम राख्न सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
