
रौतहट,३० असोज। मधेस प्रदेश समितिमा जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको समायोजन भएको छ ।
दुवै पार्टीलाई मिलाएर १५५ सदस्यीय मधेस प्रदेश समिति बनाइएको छ । जसपा नेपाल ६०–४० को अनुपातमा केन्द्रदेखि स्थानीय तहसम्म समायोजन गर्ने सहमति भएको छ । जसपा नेपालले ६० प्रतिशत र लोसपा नेपालले ४० प्रतिशत भाग पाएका छन् ।
मधेस प्रदेशमा अध्यक्ष जसपा नेपालले पाएको छ भने कोषाध्यक्ष लोसपा नेपालले पाएको छ । सात जना उपाध्यक्षमध्ये तीन जना लोसपाको तर्फबाट रहेका छन् भने मुख्यसचिवमा एक–एक जना पाएका छन् । सात जना सचिवमध्ये जसपा नेपालले चार र लोसपा नेपालले तीन जना पाएको सो पार्टीका केन्द्रीय उपाध्यक्ष जितेन्द्र सोनलले जानकारी गराए ।
अध्यक्षमा बालकिशोर यादव रहेका छन् भने उपाध्यक्षमा ज्ञानेन्द्र यादव, रामपृत पासवान, सिंहासन साह कलवार, रामज्ञान मण्डल, श्रीराम गिरी, सुशीलकुमार यादव र ओमलोक पटेल रहेका छन् । दुई जना मुख्यसचिवमा दिनेशकुमार यादव र हरि मण्डल रहेका छन् ।
सचिवहरूमा राजकुमार यादव, अरुण ठाकुर, सन्त यादव, युसुफ अली, सोहेन्द्र यादव, पुनित राम र मिथलेश यादव रहेका छन् भने कोषाध्यक्षमा समसुद्धिन राइन रहेका छन् ।
कार्यकारिणी तथा सदस्यमा पनि ६०–४० कै आधारमा बाँडफाँट गरिएको छ । दुई पार्टीबीच एकता भई जसपा नेपाल बनेको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठकले चाँडै नै समायोजन सकाउने निर्णय गरेको छ ।
प्रदेश, जिल्ला तथा स्थानीय समितिको समायोजन गर्नुका साथै भ्रातृ संगठनहरूको पनि चाँडै नै समायोजन हुने उनले बताए ।
