वीरगञ्ज, २० वैशाख । वीगरञ्ज महानगरपालिका भित्र संचालमा रहेका मसाज तथा स्पा सेन्टरमा महानगरपालिकाद्वारा अनुगमन गर्दा दुई जना नाबालिक भेटिएका छन् ।
मसाज तथा स्पा सेन्टरको आवरणमा अवाञ्छित गतिविधि भइरहेको गुनासो बढेपछि महानगरले गत मंगलवार देखि व्यापक अभियान सुरु गरेका हुन् ।
महानगरका नगर प्रहरी इन्चार्ज हरी भुसालका अनुसार भन्सार क्षेत्रबाट सुरु गरिएको अनुगमन क्रमशः महानगरका सबै ३२ वडामा विस्तार गरिनेछ । नेपाल प्रहरीसँगको समन्वयमा नगर प्रहरी टोली खटाएर अनुगमनलाई प्रभावकारी बनाइएको छ ।
अनुगमनका क्रममा सञ्चालक तथा कर्मचारीको विवरण, नाबालिका प्रयोग भए÷नभएको, सञ्चालन अनुमति, दर्ता प्रक्रिया, कर भुक्तानी, सेवा प्रकृति तथा आचारसंहिताको पालना भए÷नभएको विषयमा गहन जाँच भइरहेको बताइएको छ ।
प्रारम्भिक अनुगमनमै दुई स्पा सेन्टरमा नाबालिका प्रयोग भएको भेटिएपछि महानगरले कडा चेतावनी दिए । हालसम्म एक दर्जनभन्दा बढी मसाज तथा स्पा सेन्टरहरूको स्थलगत अनुगमन गरिसकिएको छ भने केही स्थानमा आवश्यक कागजात अपूर्ण र सञ्चालन मापदण्ड विपरीत गतिविधि देखिएको छ ।
महानगरले मापदण्ड नपुर्याउने तथा गैरकानुनी गतिविधिमा संलग्न व्यवसायी माथि कानुन अनुसार कडा कारबाही गरिने स्पष्ट पारेको छ । साथै, आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिँदै व्यवसायलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन पहल गरिने जनाए ।