महिलालाई ब्ल्याकमेलिङ गरेको आरोपमा सर्लाहीबाट एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १३, मंगलबार (१५ घण्टा अघि)
  • ३६ पटक पढिएको
महिलालाई ब्ल्याकमेलिङ गरेको आरोपमा सर्लाहीबाट एक जना पक्राउ

सर्लाही ,१३ असोज। सर्लाहीमा ह्वाट्सएपमार्फत अश्लील संवाद तथा भिडियो तयार गरी त्यसकै आधारमा महिलालाई ब्ल्याकमेलिङ गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बसबरिया गाउँपालिकाका शिव चरण मुखिया रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चिनजान तथा नातासम्बन्धका आधारमा विश्वासमा पारी एक महिलासँग ह्वाट्सएपमार्फत पटक पटक भिडियो कल गरिएको थियो । सो क्रममा भएका अश्लील संवाद तथा भिडियो रेकर्ड गरी पछि त्यसैलाई प्रयोग गर्दै ब्ल्याकमेलिङ गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।

उजुरीअनुसार आरोपितले महिलालाई विभिन्न किसिमका दबाब तथा धम्की दिँदै आफूले सुरक्षित राखेका अश्लील तस्बिर, भिडियो तथा कुराकानीका रेकर्ड आफन्त तथा परिवारका सदस्यलाई पठाइदिने र सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएको प्रहरीले जनाएको छ । साथै, उनले ५० हजार रुपैयाँ माग गरेको आरोपसमेत छ ।

पीडित महिलाले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो । जिल्ला अदालत सर्लाहीबाट विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराधमा आरोपितलाई सात दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाईएको प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्ष ( डिएसपी ) वेद प्रसाद गौतमले जानकारी दिए ।

त्यस्तै, कसैको निजी वा अश्लील तस्बिर तथा भिडियो प्राप्त भएमा त्यसलाई सेयर, फर्वार्ड, लाइक वा सामाजिक सञ्जालमा पोस्ट नगर्न तथा पीडितलाई थप क्षति पुग्ने काम नगर्न प्रहरीले अनुरोध गरेको छ । त्यस्ता सामग्री वा धम्कीसम्बन्धी च्याट तथा रेकर्ड सुरक्षित राखी तत्काल प्रहरीलाई जानकारी गराउन प्रहरीले आग्रह गरेको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस