मानवीय सेवामा चाचान समूह : राहत कोषमा ५२ लाख ११ हजार रुपैयाँ सहयोग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १८, बिहिबार (१ घण्टा अघि)
  • २८ पटक पढिएको
मानवीय सेवामा चाचान समूह : राहत कोषमा ५२ लाख ११ हजार रुपैयाँ सहयोग

वीरगञ्ज, १८ भदौ। विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि वीरगञ्जको प्रतिष्ठित व्यावसायिक घराना चाचान समूह र मारवाडी सेवा ट्रष्ट वीरगञ्जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल ५२ लाख ११ हजार रुपैयाँ सहयोग गरेका छन्।

चाचान समूहका अध्यक्ष, वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले समूहअन्तर्गतका विभिन्न उद्योग तथा प्रतिष्ठानका तर्फबाट ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको एभरेस्ट बैंकस्थित खातामा जम्मा गराएका हुन्।

चाचान समूहका अनुसार उक्त सहयोग रकममध्ये नारायणी आयल रिफाइनरीका तर्फबाट ४१ लाख रुपैयाँ, नारायणी मोर्डन प्लस इन्डस्ट्रिजका तर्फबाट ५ लाख रुपैयाँ र आदर्श पोली प्लास्टिक प्रा.लि.का तर्फबाट ५ लाख रुपैयाँ प्रदान गरिएको हो।

सहयोग रकम उपलब्ध गराउँदै अध्यक्ष चाचानले विपद्को कठिन घडीमा पीडित नागरिकको साथमा उभिनु उद्योगी–व्यवसायी तथा सम्पूर्ण नागरिकको सामाजिक दायित्व भएको बताए।

“यस्तो दैवी प्रकोप र सङ्कटका बेला हामी सबै नेपाली एकजुट भएर एक–अर्कालाई सहयोग गर्नुपर्छ,” उनले भने, “राज्य र नागरिकमा परेको पीडामा सहयोग पुर्‍याउनु हाम्रो कर्तव्य हो। आगामी दिनमा पनि आवश्यक सहयोग जारी रहनेछ।”

मारवाडी सेवा ट्रष्टद्वारा थप १ लाख ११ हजार सहयोग

यसैबीच, मारवाडी सेवा ट्रष्ट वीरगञ्जले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

ट्रष्टका अध्यक्षसमेत रहेका बाबुलाल चाचानले ट्रष्टको तर्फबाट १ लाख ११ हजार रुपैयाँ बराबरको चेक कोषको खातामा जम्मा गराएको ट्रष्टका महासचिव नरेन्द्र साहले जानकारी दिए।

चाचान समूह र मारवाडी सेवा ट्रष्टको सहयोगसहित विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कुल ५२ लाख ११ हजार रुपैयाँ योगदान भएको हो।

विपद्को समयमा निजी क्षेत्र तथा सामाजिक संस्थाबाट प्राप्त यस्तो सहयोगले प्रभावित नागरिकको तत्कालीन राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस