
जनकपुरधाम, १४ असार। धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा अवस्थित जानकी प्लास्टिक कम्पनीले प्रतिष्ठित मार्वल कम्पनीको नाम र ट्रेड मार्क प्रयोगगरि नक्कली बोरवेल९प्लाष्टिकको पाइप०उत्पादनगरि बिक्री गरिरहेको खुलेको छ ।
तीन वर्ष बढी समयदेखि जानकी प्लास्टिक उद्योगले मार्वल कम्पनीको लोगो र नाम राखेर पाइप बिक्रीगर्दै आइरहेको छ । बिभिन्न हार्डवेयर व्यवसायी मार्फत उनले मार्वल कम्पनीको नाममा नक्कली पाइप बिक्री गर्दै आएको छ ।
सिरहा जिल्लाको गोलबजार नगरपालिकाको वडा नम्बर ४ स्थित नेहाल आइरन स्टोरबाट भारी परिमाणमा मार्वलको नक्कली लोगो र नाम उल्लेख गरिएको प्लाष्टिकको पाइप प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष प्रहरी टोलीले नेहाल आइरन स्टोरमा छापामा मारेर भारी परिमाणमा बोरवेल पाइप बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी समेत रहेका डीएसपी रमेश बहादुर पालले शनिवार नेहाल आइरन स्टोरबाट बोरवेल९पाइप०बरामद भएको पुष्टि गरेका छन् ।
नेहाल आइरनबाट बिभिन्न आकारका बोरवेल पाइप बरामद गरिएको छ ’ उनले भने, आइरन स्टोर सञ्चालक साबिर खानलाई समेत नियन्त्रणमा लिएको छ ।पाइप उत्पादन गर्ने उद्योग लगायत बिक्री बितरण गर्ने बिक्रेताहरुकोे खोजी र अनुसन्धान भइरहेको उनले जनाएका छन् ।
घटनाको अनुसन्धान भइरहेको छ ’डीएसपी पालले भने, पक्राउ परेका व्यवसायीसित सोधपुछ भइरहेको र हाल सम्म एकजना मात्र नियन्त्रणमा लिएको छ ।झण्डै दश जनालाई अनुसन्धानको दायरामा राखिएको बताइएको छ ।
जानकी प्लास्टिक उद्योगले मार्वल कम्पनीको नाम र लोगो अंकितगरि पाइप उपलब्ध गराएको व्यवसायीहरुले बताइरहेका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले सिरहा नगरपालिकाको वडा नम्बर २० लकडीगोठ बस्ने ४५ वर्षीय महम्मद साबिर खानले सञ्चालन गरेको नेहाल आइरन स्टोरमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा १ सय १४ एमएम, १ सय १० एमएम र ९० एमएम साइजका गरी ६ सय ३२ थान बोरवेल पाइप बरामद गरिएको डीएसपी पालले जनाएका छन् । प्रहरीका अनुसार ती पाइपमा मार्वल कम्पनीको नाम र लोगो प्रयोग गरिएको थियो । कम्पनीका आधिकारिक प्रतिनिधिले प्रारम्भिक परीक्षणका क्रममा ती पाइप कम्पनीका आधिकारिक उत्पादन नभएको आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा स्टोर सञ्चालक महम्मद साबिर खानले मार्वल कम्पनीको नाम र लोगो प्रयोग गरिएका पाइप बिक्री भएको स्वीकार गरेका छन् । त्यसपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको डीएसपी पालले जनाएका छन् ।
उपभोक्तालाई ठगी गरेको तथा ट्रेडमार्क उल्लंघनसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उनले बताएका छन् ।
मार्वल टेक्नो प्लास्टका मार्केटिङ म्यानेजर सुदीप न्यौपानेले नेहाल आइरन स्टोरले करिब तीन वर्षदेखि कम्पनीको नाम र ब्रान्डिङ दुरुपयोग गर्दै आफ्ना उत्पादनको नाममा पाइप बिक्री गर्दै आएको आरोप लगाएका छन् ।
बजार अनुगमनका क्रममा मधेश प्रदेशमा उपभोक्ताले आफूहरूले मार्वल ब्रान्डकै पाइप प्रयोग गरिरहेको बताएपछि कम्पनीले आफ्नो बिक्री अभिलेखसँग तुलना गरेको थियो । त्यस क्रममा उक्त क्षेत्रमा कम्पनीबाट कुनै आधिकारिक आपूर्ति नभएको देखिएपछि थप अनुसन्धान गरिएको र कम्पनीकै नाम तथा लोगो प्रयोग गरिएका पाइप बिक्री भइरहेको फेला परेको न्यौपानेले दाबी गरेकाछन् ।
यसअघि पनि सम्बन्धित व्यवसायीलाई यस्तो गतिविधि नगर्न मौखिक रूपमा सचेत गराइएको बताउँदै उनले भने, तर पुनः उही कार्य दोहोरिएको पाइएपछि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ । नक्कली ब्रान्डिङ प्रयोग गरिएका उत्पादनको कारोबारले कम्पनीको प्रतिष्ठा, उपभोक्ताको विश्वास तथा सुरक्षामा समेत असर पुग्ने उनको भनाइ छ ।
प्रहरी हिरासतमा रहेका नेहाल आइरन स्टोरका सञ्चालक खानले उक्त पाइप जानकी प्लास्टिक कम्पनी, जनकपुरबाट खरिद गरेको दाबी गरेको छ ।
प्रहरीले शनिवार साँझ जानकी प्लास्टिक ईण्डस्ट्रिजमा छापा मारेको थियो ।तर प्रहरीले छापा मारेको औपचारिकता मात्र पुरा गरेको बताइएको छ ।उद्योग परिसरमा रहेको मार्वल ब्राण्डका सबै पाइपहरुलाई राती नै अन्यत्र सारिएको छ ।प्रहरीको संरक्षणमा नै नक्कली समान अन्यत्र सार्न ठूलो रकमको चलखेल भएको बताइएको छ ।यसमा स्थानीय केहि व्यवसायी र प्रतिनिधिले सकृय भूमिका निर्वाह गरेको बताइएको छ ।जानकी चौकीका ईञ्चार्ज रहेका सई जितेन्द्र प्रसाद चौधरीले जनाए अनुसार जानकी पाइप ईण्डस्ट्रिजमा रहेका समानहरुलाई यथास्थितिमा राख्न र कुनै समान बाहिर नलग्न जानकारी गराउन माथिबाट मात्र आदेश आएको थियो ।
प्रहरीले आइतवार दिउँसोपनि कारखानामा तलाशी गरेको बताइएको छ ।कम्पनीकी सञ्चालिका अनिता अग्रवाल सपरिवार फरार भएका छन् ।उनीहरु शनिवारदेखि नै सम्पर्क बाहिर रहेको बताइएको छ ।अनिताको नाममा नेपालमा प्रयाप्त जग्गाजमिन, उद्योगधन्धा, व्यवसायहरु रहेका छन् ।
