मिटरब्याजमा सम्पत्ति कब्जा गरेको आरोप सरकारी कर्मचारीमाथि, पीडित व्यवसायीको कडा चेतावनी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ६, बुधबार (९ घण्टा अघि)
  • २९ पटक पढिएको
मिटरब्याजमा सम्पत्ति कब्जा गरेको आरोप सरकारी कर्मचारीमाथि, पीडित व्यवसायीको कडा चेतावनी

वीरगञ्ज, ०६ जेठ। बारामा जिल्लामा आफ्नै मिल्ने साथीद्वारा ठगिएको आरोप लगाउँदै एक व्यवसायी मिडियासामु आएका छन् । जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका–३ भवानीपुर घर भई हाल सिमरामा “घरआगन स्वीट्स” सञ्चालन गर्दै आएका व्यवसायी वीरेन्द्र साह कानुले मङ्गलवार पत्रकार सम्मेलन गरी विश्वासकै आधारमा ठुलो धोका पाएको बताएका हुन् ।

साहका अनुसार आन्तरिक राजस्व कार्यालय वीरगञ्जमा कार्यरत नायब सुब्बा नैमुदिन अन्सारीसँग उनले १७ लाख रुपैयाँ सापटी लिएका थिए । उक्त रकमको मासिक ५१ हजार रुपैयाँ ब्याज आफूले नियमित रूपमा बुझाउँदै आएको दाबी गर्दै उनले अहिले अन्सारीले “मैले कुनै पैसा दिएको छैन” भन्दै उल्टै आफ्नो घरजग्गा कब्जा गरेको आरोप लगाए ।

उनका अनुसार आफू बैंकको कालोसूचीमा परेका कारण आपसी सहमतिमा सिमरास्थित १० धुर जग्गामा बनेको दुई तल्ले घर अन्सारीकी श्रीमती शब्नम खातुनको नाममा पास गरिएको थियो । जग्गा पास गर्ने दिन नै अन्सारीले एउटा ब्याङ्कक चेक र ३५ लाख रुपैयाँ बराबरको अर्को चेक आफ्नो नाममा काटेर आफैँसँग राखेको उनले बताए । साथै, आफ्नो अर्को २५ लाख रुपैयाँको चेक समेत अन्सारीकै नियन्त्रणमा रहेको उनको दाबी छ ।

साहले आफ्नै साथीले विश्वास तोड्दा आफू मानसिक रूपमा विक्षिप्त बनेको गुनासो गरे । “जसलाई आफ्नै मानेँ, उसैले मेरो घर खोज्यो,” भन्दै उनी पत्रकार सम्मेलनमै भावुक बने ।

 यस प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत सुलेमान अन्सारी र जिल्ला अदालत बारामा कार्यरत राजेश यादवले समेत दबाब तथा धम्की दिएको आरोप उनले लगाए । “अदालत हाम्रो हातमा छ, तिमीले केही गर्न सक्दैनौ भन्ने धम्की दिइयो,” साहले भने ।

उनका अनुसार सिमरास्थित उक्त दुई तल्ले घरमा सुरुदेखि नै आफू र परिवार बस्दै आएका छन् । पछिल्लो समय अन्सारीले इलाका प्रहरी कार्यालय सिमरामा आफू विरुद्ध झुट्टा आपराधिक उपद्रव मुद्दा दर्ता गराएको समेत उनले आरोप लगाए ।

न्याय नपाए परिवारसहित आत्मदाह गर्न बाध्य हुने चेतावनी दिँदै साहले सम्बन्धित निकायसँग निष्पक्ष छानबिन र न्यायको माग गरेका छन् ।

यता, नैमुदिन अन्सारीले भने आफूमाथि लगाइएका सबै आरोप निराधार रहेको बताएका छन् । साहले आफ्नो चरित्रहत्या गरेको दाबी गर्दै उनले छिट्टै पत्रकार सम्मेलनमार्फत प्रमाण सार्वजनिक गर्ने बताएका छन् ।

यस विषयमा सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेकाले वास्तविकता छानबिनपछि मात्र स्पष्ट हुने देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस