मुख्यमन्त्री यादव : राष्ट्रिय गौरवका आयोजना अघि बढेपछि निजगढको महत्व बढ्दै गएको

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ३, आईतबार (१९ घण्टा अघि)
  • ७८ पटक पढिएको
मुख्यमन्त्री यादव : राष्ट्रिय गौरवका आयोजना अघि बढेपछि निजगढको महत्व बढ्दै गएको

रौतहट, ०३ जेठ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले राष्ट्रिय गौरवका आयोजनाहरूका कारण निजगढ नगरपालिका ले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ठूलो सम्भावना बोकेको बताएका छन्।

शनिबार निजगढ नगरपालिका–९ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गर्दै मुख्यमन्त्री यादवले चर्चित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, फास्ट ट्र्याक तथा प्रस्तावित रेलमार्गजस्ता योजनाले समग्र निजगढ क्षेत्रको महत्व आगामी दिनमा अझ बढ्ने बताए।

उनले क्षेत्रफलका हिसाबले अन्य नगरपालिकाभन्दा सानो भए पनि निजगढले भविष्यमा महत्वपूर्ण स्थान ओगट्ने उल्लेख गर्दै प्रदेश सरकारले कृषि, सिंचाइ तथा भौतिक पूर्वाधार विकासमा दीर्घकालीन योजनासहित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री यादवले चुरे क्षेत्रबाट बग्ने खोलाका कारण स्थानीयवासीले आवतजावतमा समस्या भोग्दै आएको उल्लेख गर्दै आवश्यक स्थान पहिचान गरी बढीमा २५ मिटर लम्बाइका दुईवटा पुल निर्माण गरिने जानकारी दिए।

उनले मधेस प्रदेशको उत्तरतर्फ चुरे पहाड र दक्षिणतर्फ उर्वर खेतीयोग्य जमीन रहेको भन्दै कृषि उत्पादन वृद्धि, सिंचाइ विस्तार तथा धान प्रशोधनका लागि ठूलो सेलर मिल स्थापना गर्ने योजना रहेको बताए। यसबाट कृषकको उत्पादनलाई आर्थिक समृद्धि र रोजगारीसँग जोड्न सकिने उनको भनाइ थियो।

करीब ३८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको तीन कोठे पक्की वडा कार्यालय भवन उद्घाटन गर्दै मुख्यमन्त्री यादवले वडा नं. ९ नेतृत्वदायी वडा भएको उल्लेख गर्दै सेवाग्राहीले छिटोछरितो सेवा पाउने विश्वास व्यक्त गरे। उनले वडाको समग्र विकासमा आवश्यक सहयोग गर्ने आश्वासनसमेत दिए।

वडा कार्यालय निर्माणका लागि ७० लाख रुपैयाँभन्दा बढी मूल्यको दुई कट्ठा जग्गा दान गर्ने दाता तीर्थमान लामा लाई कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै, वडाभित्रका ८० वर्षभन्दा माथिका ८७ जना ज्येष्ठ नागरिक तथा वडा कार्यालयलाई कम्प्युटर, फर्निचरलगायत सामग्री सहयोग गर्ने दाताहरूलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा नगरप्रमुख सुरथ पुरी ले निजगढको विकास र स्थानीय समस्याबारे धारणा राखेका थिए। कार्यक्रममा मधेस प्रदेशका कृषिमन्त्री श्याम पटेल, प्रदेशसभा सदस्य मीना लामा, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, उपप्रमुख सोममाया थिङ, पूर्वनगरप्रमुख सुरेशकुमार खनाल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

कार्यक्रम वडाध्यक्ष रामचन्द्र कटुवाल को अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वडा सदस्य इन्द्रकुमारी सुनार ले गरेकी थिइन्। कार्यक्रम सञ्चालन भाइकाजी श्रेष्ठ र मनीता पाण्डेले गरेका थिए।

यसैबीच, मुख्यमन्त्री यादवले निजगढ नगरपालिका–९ स्थित गौरीशङ्कर क्याम्पस परिसरमा निर्माण हुने पुस्तकालय भवन तथा योगशाला भवनको शिलान्यास गरेका छन्।

पूर्वनगरप्रमुख सुरेशकुमार खनालले आफ्नी आमा स्वर्गीय राधादेवी खनालको स्मृतिमा निर्माण हुन लागेको पुस्तकालय भवनको कुल लागत एक करोड १५ लाख रुपैयाँ रहेको जानकारी दिए। नौ कोठे दुई तले पक्की भवन निर्माणपछि विद्यार्थी तथा अन्य पाठकका लागि अध्ययन केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको उनले बताए।

त्यसैगरी, सोही क्याम्पस परिसरमा मधेस प्रदेशको योजना तथा भौतिक पूर्वाधार विकास मन्त्रालयको ३० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने फलामे ट्रसयुक्त योगशाला भवनको पनि शिलान्यास गरिएको छ।

निजगढ नगरपालिकाका इन्जिनीयर अशोक कुशवाहा का अनुसार तीन हजार पाँच सय वर्गफिट क्षेत्रफलमा निर्माण हुने उक्त योगशालामा एकैपटक दुई सयभन्दा बढी व्यक्तिले योगाभ्यास गर्न सक्नेछन्।

ताजा अपडेट

खोजी गर्नुहोस