मेयर सिंहविरुद्ध षड्यन्त्र भएको घिमिरेको दाबी, राज्यशक्ति दुरुपयोगको आरोप

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २६, मंगलबार (१३ घण्टा अघि)
  • २९ पटक पढिएको
मेयर सिंहविरुद्ध षड्यन्त्र भएको घिमिरेको दाबी, राज्यशक्ति दुरुपयोगको आरोप

वीरगञ्ज, २६ जेठ। वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दाप्रति उनका स्वकीय सचिव सत्यराज घिमिरेले आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिमिरेले उक्त प्रकरण भ्रष्टाचारसँग नभई छोरीको नागरिकता बनाउने विषयसँग सम्बन्धित रहेको दाबी गरेका छन् । नागरिकता बनाउने प्रक्रियामा मेयर सिंह सेवाग्राहीको भूमिकामा मात्र रहेकाले उनीमाथि भ्रष्टाचार मुद्दा दर्ता गर्नु उचित नभएको उनको दाबी छ ।

घिमिरेले सोही विषयमा यसअघि पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको र न्यायिक प्रक्रियाअन्तर्गत मेयर सिंह रिहा भइसकेको उल्लेख गर्दै विचाराधीन विषयमा अख्तियारले पुनः मुद्दा दर्ता गर्नु क्षेत्राधिकार नाघेको कदम भएको आरोप लगाए ।

उनले नागरिकता सम्बन्धी विषयमा अख्तियारको भूमिका अनुसन्धान र सिफारिससम्म सीमित रहने जिकिर गर्दै यस प्रकरणमा राज्यशक्तिको दुरुपयोग भएको टिप्पणी गरेका छन् । साथै, विदेशी वा दोहोरो नागरिकता लिएका व्यक्तिहरूमाथि पनि समान रूपमा कारबाही हुनुपर्ने उनको भनाइ छ ।

घिमिरेले न्यायालयप्रति पूर्ण विश्वास रहेको उल्लेख गर्दै अन्तिम सत्य अदालतबाटै स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

उता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने मेयर सिंहसहित सात जनाविरुद्ध गलत लिखत तयार गरेको, सरकारी कागजात सच्याएको, कागजात नोक्सान गरेको तथा गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस