मोबाइल चोरीको आरोपमा बालबालिकामाथि दुर्व्यवहार, चार महिला प्रहरी नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १८, बिहिबार (१२ घण्टा अघि)
  • ३४ पटक पढिएको
मोबाइल चोरीको आरोपमा बालबालिकामाथि दुर्व्यवहार, चार महिला प्रहरी नियन्त्रणमा

वीरगञ्ज, १८ असार। बारामा मोबाइल चोरी गरेको आरोपमा चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको घटनामा संलग्न चार महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्तीस्थित सार्वजनिक चौतारामा मङ्गलवार बिहान स्थानीय केही बालबालिकालाई मोबाइल चोरीको निहुँमा बरको रुखको फेदमा डोरीले बाँधेर कुटपिट गरिएको थियो । घटनापछि प्रहरीमा परेको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेका अनुसार उक्त घटनामा संलग्न टाँगिया बस्तीकी ६२ वर्षीय मिना रजन मगर, ३२ वर्षीय पवि कुमारी आले मगर, ३० वर्षीय रानीमाया मोक्तान र ४२ वर्षीय निर्मला वाइबालाई बुधवार पक्राउ गरिएको हो ।

पक्राउ परेका चारै जनाविरुद्ध बालबालिकाविरुद्धको कसुरमा मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

घटनाले स्थानीयस्तरमा बाल अधिकार र कानुनी प्रक्रियाबारे पुनः प्रश्न उठाएको छ । प्रहरीले कानुन हातमा नलिन र यस्ता घटनामा संलग्न नहुन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस