रास्वपा नगर सभापति अलीलाई प्रहरीले गर्‍यो पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ३०, शुक्रबार (१५ घण्टा अघि)
  • १७ पटक पढिएको
रास्वपा नगर सभापति अलीलाई प्रहरीले गर्‍यो पक्राउ

सप्तरी,३० असोज।  लागुऔषध गाँजा बरामदसम्बन्धी मुद्दामा फरार रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरुंगा नगरपालिकाका नगरसभापति मोहम्मद साबिर अली पक्राउ परेका छन् । उनलाई बुधबार सप्तरी र सिरहाका प्रहरीको संयुक्त टोलीले सप्तरीको सुरुंगा नगरपालिका–४ स्थित कदमाहा बजारबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) रुपक खड्काका अनुसार इलाका प्रहरी कार्यालय भेडिया, सप्तरी र इलाका प्रहरी कार्यालय लहान, सिरहाको संयुक्त टोलीले खोजतलासका क्रममा अलीलाई पक्राउ गरेको छ ।

सुरुंगा नगरपालिका–५ का ४७ वर्षीय अलीविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय लहानको अपराध नियन्त्रण तथा अनुसन्धान शाखाले यसअघि नै खोजतलासका लागि पत्राचार गरेको थियो । उक्त शाखाले १५ फागुन २०८१ र २६ पुस २०८२ मा पुनः खोजतलास गर्न पत्राचार गरेको सप्तरी प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार घटनाको सुरुआत २९ मंसिर २०८१ मा भएको सवारी दुर्घटनासँग जोडिएको छ । सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाइलमा पूर्व–पश्चिम राजमार्गमा ना.३ ख ७५९१ नम्बरको ट्रक र बा.८ च ९९६३ नम्बरको कार एकआपसमा ठोक्किएका थिए । दुर्घटनापछि प्रहरीले कारमा खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको एक क्विन्टल ३० किलो गाँजा बरामद गरेको थियो ।

घटनापछि ट्रक चालक र कार नियन्त्रणमा लिइए पनि कार चालक भने फरार भएका थिए । उक्त घटनाको अनुसन्धानका क्रममा कार चालक फरार रहेको र सोही प्रकरणमा अलीको संलग्नता रहेको खुलेपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो । खोजतलासकै क्रममा उनलाई पक्राउ गरिएको एसपी खड्काले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस