रास्वपा बारामा विवाद चर्कियो, ‘राइट टु रिकल’का लागि हस्ताक्षर अभियान घोषणा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १३, बुधबार (१ हप्ता अघि)
  • ४२ पटक पढिएको
रास्वपा बारामा विवाद चर्कियो, ‘राइट टु रिकल’का लागि हस्ताक्षर अभियान घोषणा

काठमाडौ, १३ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि पार्टीभित्रको विवाद थप चर्किएको छ। स्वर्णकारले आफू पार्टी नछोड्ने बरु अन्तिमसम्म संघर्ष गर्ने बताएका छन्।

२०७९ भदौ २९ गतेदेखि बारा जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्दै आएका स्वर्णकारले पार्टीभित्र टिकट वितरणमा अनियमितता, विधि–विधान उल्लंघन तथा संगठन कब्जा गर्ने प्रयास भएको आरोप लगाएका छन्। उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको दाबी समेत गरेका छन्।

स्वर्णकारका अनुसार बाराबाट प्रतिनिधिसभामा निर्वाचित चारै जना सांसदसँग पछिल्लो समय विवाद बढ्दै गएको थियो। यही विवादका बीच जेठ १० गते आयोजित विस्तारित बैठकमा सांसदहरूलाई कार्यकर्ताले कार्यक्रमस्थलबाट बाहिरिन बाध्य बनाएका थिए।

उनले उम्मेदवारबाट आवेदन शुल्क उठाएर टिकट वितरणमा अपारदर्शिता भएको आरोप लगाउँदै उक्त रकम फिर्ता गर्न माग गरेका छन्। साथै बारा जिल्लामा पार्टी संगठन आफूहरूले निर्माण गरेको दाबी गर्दै आवश्यक परे समानान्तर समिति गठन गरेर अघि बढ्ने चेतावनी दिएका छन्।

स्वर्णकारले पार्टीको विधानअनुसार ‘राइट टु रिकॉल’ अभियान सञ्चालन गर्ने तयारी भइरहेको पनि बताएका छन्। उनका अनुसार पार्टीभित्र विधि र पारदर्शिताको माग उठाउँदा आफूलाई योजनाबद्ध रूपमा कारबाही गरिएको हो।

यता रास्वपाका सांसदहरूले भने संगठनलाई व्यवस्थित बनाउने क्रममा आवश्यक निर्णय गरिएको बताएका छन्। पार्टीभित्रको विवादले बारा जिल्लामा रास्वपाको आन्तरिक राजनीति थप तातेको देखिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस