
वीरगञ्ज , ०२ असोज । पर्साको वीरगञ्ज महानगरपालिका–२५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापति प्रकाश साह अभद्र व्यवहारसम्बन्धी आरोपमा पक्राउ परेका छन्।
मनिष गुप्तासहितको जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै साहलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका साहलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए।
जाहेरीकर्ता गुप्ताले साहले आफूलाई वीरगञ्जको स्थानीय बासिन्दा भन्दै वीरगञ्ज भन्सारबाट आफूले मात्रै माछाको कारोबार गर्ने र अन्य व्यक्तिलाई कारोबार गर्न नदिने किसिमको अभिव्यक्ति दिएको आरोप लगाएका छन्। साहले आफूलाई गालीगलौज तथा अभद्र व्यवहार गरेको पनि गुप्ताको दाबी छ।
गुप्ताका अनुसार साहले स्थानीय भएको प्रभाव देखाउँदै माछा कारोबारमा अन्य व्यक्तिलाई रोक लगाउने प्रयास गरेका थिए। जाहेरीमा उल्लेख गरिएका आरोपमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
यसैबीच, साह पक्राउ परेपछि उनलाई उन्मुक्ति दिलाउन वा प्रहरी अनुसन्धानमा प्रभाव पार्न केही व्यक्तिहरू सक्रिय भएको चर्चा व्यवसायीबीच चलेको बताइएको छ। माछा, तरकारी तथा फलफूल व्यवसायसँग सम्बन्धित केही व्यक्तिले आर्थिक वा राजनीतिक दबाब सिर्जना गर्न सक्ने दाबीसमेत सार्वजनिक रूपमा गरिएको छ। यद्यपि, आर्थिक लेनदेन वा प्रहरीमाथि दबाब दिइएको विषयमा प्रहरीले हालसम्म कुनै औपचारिक पुष्टि गरेको छैन।
प्रहरीले घटनासँग सम्बन्धित पक्षको बयान, उपलब्ध प्रमाण तथा जाहेरीमा उल्लेखित विषयमाथि अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणका आधारमा मात्रै कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।
पक्राउ परेका साहमाथि लगाइएको आरोप हालसम्म प्रमाणित भइसकेको छैन। आरोपको सत्यता अनुसन्धान र कानुनी प्रक्रियाबाट टुंगो लाग्नेछ।
