
रौतहट, ०६ जेठ। रौतहटको चन्द्रपुर नगरपालिकाले आफ्नो मातहतका सरकारी कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरूको सञ्चालन समय र साप्ताहिक बिदा परिमार्जन गरेको छ ।
नगर कार्यपालिकाको गत जेठ ४ गतेको बैठकको निर्णयअनुसार आगामी जेठ १० गतेदेखि लागू हुने गरी नयाँ समय तालिका निर्धारण गरिएको हो ।
नगरपालिकाले जारी गरेको सूचना अनुसार नयाँ व्यवस्थालाई दुई क्षेत्रमा विभाजन गरिएको छ । विद्यालयहरू साबिककै तालिकामा चल्ने भएका छन् भने नगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूको हकमा भने कुनै परिवर्तन गरिएको छैन । विद्यालयहरू साबिक बमोजिम नै आइतबारदेखि शुक्रवारसम्म नियमित सञ्चालन हुनेछन् ।
कार्यालय समयमा हेरफेर
नगरपालिका अन्तर्गतका विभिन्न प्रशासनिक कार्यालय र आकस्मिक सेवाका शाखाहरूको समयमा भने परिमार्जन गरिएको छ ।
नगरपालिकाको मुख्य कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य, पशु सेवा र कृषि शाखा तथा अस्पतालहरू आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्नेछन् । शुक्रवार भने यी कार्यालयहरू बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र खुला रहनेछन् ।
नेपाली काँग्रेसबाट निर्वाचित नगर प्रमुख सञ्जय कुमार काफ्लेद्वारा जारी सूचनामा नयाँ व्यवस्थाले प्रशासनिक कार्य चुस्त बनाउन र सर्वसाधारणलाई सेवा लिन सहज हुने विश्वास लिइएको छ । नगरपालिकाले नयाँ कार्यतालिका अनुसार नै सेवा प्रवाह र विद्यालय सञ्चालन गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।
यता सङ्घ सरकारले भने शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस्तै, विद्यालयहरू पनि आइतबार बिदा गर्न सङ्घ सरकारको निर्देशन छ । शुक्रवार भने बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कार्यालय समय कायम गर्ने सङ्घ सरकारको निर्णय छ ।
चन्द्रपुर नगरपालिकाले भने सङ्घ सरकारको निर्णयभन्दा फरक निर्णय गरेर लागू गरेको हो । नगरपालिकाले शनिवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ भने आइतबार पनि कार्यालय खुल्ला रहने छन् । यस्तै, कार्यालय समय पनि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म कायम गरिएको छ ।

