
रौतहट, ०९ भदौ। रौतहटको गुजरा नगरपालिका–२ चोचास्थित नहरमा मंगलबार बिहान एक पुरुषको शव फेला परेको छ। शवको पहिचान भने खुल्न सकेको छैन ।
प्रहरीका अनुसार बिहान करिब १०ः४५ बजे नहरमा पुरुषको शव बगाएर ल्याएको खबर पाएपछि सशस्त्र प्रहरी बलको एफओबी जंगलसैयाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक चक्रबहादुर खत्रीको नेतृत्वमा सात जनाको टोली घटनास्थल पुगेको थियो । त्यस्तै, प्रहरी चौकी रंगपुरबाट प्रहरी सहायक निरीक्षक राम वशिष्ठ यादवको नेतृत्वमा प्रहरी टोली पनि घटनास्थल पुगेको थियो । सुरक्षाकर्मीले नहरबाट शव निकालेर किनारमा राखेका थिए ।
घटनाको अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक दिनेश थापाको नेतृत्वमा क्इऋइ सहितको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ । शव फेला परेका पुरुषको नाम, ठेगाना र मृत्युको कारण हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
