रौतहटमा एकै रात तीन घरमा चोरी, चार जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ६, बुधबार (५ दिन अघि)
  • ४४ पटक पढिएको
रौतहटमा एकै रात तीन घरमा चोरी, चार जना पक्राउ

रौतहट, ०६ जेठ। रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गत वडा नम्बर ४ स्थित टेंग्राहा गाउँमा गएराति तीन घरमा चोरी भएको छ । एकै पटक शृङ्खलाबद्ध रूपमा भएका यी चोरीका घटनाले गाउँमा त्रास फैलाएको छ भने स्थानीय सुरक्षा व्यवस्थामाथि समेत प्रश्न खडा गरिदिएको छ।

गाउँको ठूलो बलुवा टोलस्थित स्थानीय राजेन्द्र राय यादव को घरमा सुरुङ बनाएर चोरी गरिएको छ भने  घरबाट सुनचाँदीका गरगहना, नगद तथा अन्य बहुमूल्य सामान गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

त्यसैगरी सोही टोलका स्थानीय नन्द राय यादवको घरमा पनि सुरुङ बनाउने प्रयास गरिएको थियो । तर, घरधनी नसुतेको कारण चोरहरू चोरी गर्न सफल नभएको स्थानीयवासीले बताएका छन् ।

यस्तै गाउँकै सानो बलुवा टोलमा बसोबास गर्दै आएका जामुन ठाकुर हजाम को घरमा पनि चोरी भएको छ । घर निर्माणका लागि राखिएको नगद रकम, सुनचाँदीका गरगहना तथा अन्य सामग्री चोरी भएको परिवारजनले बताएका छन् । उक्त घरबाट पनि करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनापछि स्थानीयवासीमा त्रास छ भने  ठूलो  पीडित परिवारले  सुरक्षाको अभावका कारण चोरीका घटना बढ्दै गएको गुनासो गरेका छन् ।प्रहरीले घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जनाएको छ ।

स्थानीयवासीले पछिल्लो समय गाउँ क्षेत्रमा प्रहरी गस्ती कमजोर हुँदा चोरीका घटनामा वृद्धि भएको आरोप लगाएका छन् । उनीहरूले रात्रीकालीन सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा नियमित गस्ती बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् । प्रहरीले भने घटनाबारे गम्भीर रूपमा अनुसन्धान भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याइने जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस