रौतहट,१५ असोज। रौतहटको बौधीमाई नगरपालिका–८ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।
बुधबार राति मौलापुरबाट बंकुलतर्फ जाँदै गरेको BR05AU 0905 नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए।
दुर्घटनामा परोहा नगरपालिका–९ निवासी लालबाबु दासका २८ वर्षीय छोरा जितेन्द्र दास गम्भीर घाइते भएका थिए। मोटरसाइकलको ठक्कर अत्यन्तै शक्तिशाली भएका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतम का अनुसार दुर्घटनापछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा मोटरसाइकलको तीव्र गति र चालकको नियन्त्रण गुम्नु दुर्घटनाको प्रमुख कारण हुन सक्ने जनाएको छ। पछिल्लो समय रौतहटका विभिन्न सडकखण्डमा तीव्र गति, हेल्मेटको प्रयोगमा लापरबाही तथा ट्राफिक नियम उल्लङ्घनका कारण सवारी दुर्घटनाका घटनाहरू बढ्दै गइरहेको भन्दै प्रहरीले सवारी चालकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ।