रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा तीन घाइते, दुईको अवस्था गम्भीर

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २२, सोमबार (७ घण्टा अघि)
  • ९५ पटक पढिएको
रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा तीन घाइते, दुईको अवस्था गम्भीर

रौतहट, २२ असार। रौतहटको गौर–पिपरा सडकखण्ड अन्तर्गत मुडबलवा मोड नजिक दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक महिलासहित तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार परोहा नगरपालिका–४ घर भई हाल गौरमा बस्दै आएका विनोद साह मधेश प्रदेश ०३–०२५ प ८६७१ नम्बरको मोटरसाइकलमा राजदेवी नगरपालिकातर्फ जाँदै थिए। सोही क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आउँदै गरेको प्रदेश २–०३–००९ प १९८५ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा तीव्र गतिमा रहेको मोटरसाइकलका चालक सर्लाहीको हरिवन नगरपालिका–२, पहाडी टोल निवासी ४४ वर्षीय रामदरेश बैठा र पछाडि सवार उनकी नातामा साली पर्ने रौतहटको गढीमाई नगरपालिका–हथिऔल निवासी ३२ वर्षीया रिन्जु देवी गम्भीर घाइते भएका छन्।

प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलको गति अत्यधिक भएकाले ठक्करपछि दुवै सवारी साधन एकअर्कामाथि चढेजस्तै अवस्थामा रोकिएका थिए। स्थानीयवासीले तत्काल उद्धार गरी घाइतेहरूलाई सडकबाट सुरक्षित स्थानमा सारेका थिए।

घटनापछि एम्बुलेन्समार्फत तीनै जना घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। राजदेवी नगरपालिकामा ल्याब टेक्निसियनका रूपमा कार्यरत विनोद साहको अवस्था सामान्य रहेको बताइएको छ भने अन्य दुई घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकल घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस