
रौतहट, ११ जेठ। रौतहटमा डिभिजन वन कार्यालयले बाघ गणनाका साथै बाघ संरक्षण अभियान सञ्चालन गरेको छ। बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीहरूसँगको सचेतनामूलक कार्यक्रममा डिभिजन वन प्रमुख हेमन्त साहले बाघको संरक्षणका लागि सबै तहतप्काबाट लाग्नुपर्ने बताए।
रौतहटको लामहा नदीको माथिल्लोदेखि तल्लो क्षेत्र, धन्सार वन क्षेत्र, हातेमालो सामुदायिक वन उपभोक्ता समूह, रङ्गपुर साझेदारी वनको सतियारी वन क्षेत्र, गैँडातारको वन क्षेत्र, जुडिबेला र पौराईको वन क्षेत्र, रामलाल वृन्दावन साझेदारीको वन क्षेत्र तथा फतुवा विजयपुरको नमस्ते सामुदायिक वन क्षेत्रमा बाघको बसोबास रहँदै आएको डिभिजन वन प्रमुख साहले जानकारी दिए।
नेपालमा बाघको सङ्ख्या ३ सय ५५ रहेको जानकारी दिँदै साहले रौतहटमा पनि बाघको गणना भइरहेकाले केही समयपछि सङ्ख्या यकिन हुने बताए।पाटेबाघको शारीरिक बनावट, स्वभाव, आहारा, बासस्थान तथा आक्रमण गर्ने शैलीबारे समेत जानकारी दिँदै साहले बाघले सामान्यतया मानिसबाट टाढा बस्न रुचाउने तर आत्मसुरक्षा वा बच्चाको सुरक्षाका लागि आक्रमण गर्न सक्ने भएकाले सचेत रहनुपर्ने बताए।
विगतका घटनाहरू:
२०७७ साल असोज १४ गते रौतहटमा बाघको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं. ६ का २७ वर्षीय सङ्गम भण्डारीको मृत्यु भएको थियो। भण्डारीको कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा जङ्गलमा शव फेला परेको थियो। भण्डारीलाई खोज्न गएका दुई युवकसमेत बाघको आक्रमणमा परेका थिए।
यसैगरी २०७८ साल असोज २१ गते रौतहटको लामहा जङ्गलमा बाघले आक्रमण गर्दा चन्द्रपुर–६ थोकरटोलका यज्ञबहादुर रायमाझी घाइते भएका थिए। २०८१ साल मङ्सिर १५ गते: रौतहटको गुजरा नगरपालिका वडा नं. १ का वडाध्यक्ष रामजित चौधरी र बौराही चौधरीलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो। गुजरा–१ राईटोलस्थित आफ्नै घरनजिकै रहेको आलुबारीमा पानी पटाउन गएका बेला बौराहीमाथि अचानक बाघले आक्रमण गरेको थियो। उनलाई बचाउन गएका वडाध्यक्ष रामजितलाई समेत बाघले झम्टेर घाइते बनाएको थियो।
बाघप्रति आम नागरिकले सकारात्मक धारणा बनाए मात्रै यसको संरक्षण हुने डिभिजन वन प्रमुख साहको धारणा थियो। बाघ मार्ने र बाघसँग दुस्मनी गर्ने काम कसैले पनि गर्न नहुने उनले बताए। रौतहटको जङ्गलमा बाघको सङ्ख्या यकिन नभए पनि यहाँका विभिन्न जङ्गलहरूमा बाघ बस्दै आएको स्थानीयहरू बताउँछन्। जिल्लाका जङ्गलमा लोपोन्मुख अवस्थामा रहेको पाटेबाघसमेत रहेको बताउँदै साहले वन्यजन्तुको पनि बाँच्ने अधिकार रहेकाले तिनको संरक्षण गर्नु मानवको दायित्व भएको उल्लेख गरे।
