रौतहटमा बोक्सीको आरोपमा एकल महिलामाथि कुटपिट, एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ३, आईतबार (१९ घण्टा अघि)
  • ६९ पटक पढिएको
रौतहटमा बोक्सीको आरोपमा एकल महिलामाथि कुटपिट, एक जना पक्राउ

रौतहट, ०३ जेठ। सभ्य समाजलाई नै लज्जित तुल्याउने गरी रौतहटको कटहरीयामा एक एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै जघन्य र अमानवीय व्यवहार गरिएको छ । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा बस्ने अन्दाजी ५५ वर्षीया महिलालाई स्थानीय केही व्यक्तिहरूले बोक्सीको कुप्रथासँग जोडेर मरणासन्न हुने गरी कुटपिट गर्नुका साथै जबरजस्ती मलमूत्र समेत खुवाएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले यस अमानवीय र क्रूर घटनामा संलग्न भई फरार रहँदै आएका मुख्य अभियुक्त मध्येका एक राजेन्द्र माझीलाई गत शुक्रबार पक्राउ गर्न सफल भएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गाउँकै केही टाठाबाठाहरूले ती असहाय महिलामाथि “तन्त्रमन्त्र गरेर मेरो आफन्तलाई बिरामी बनाएको” भन्दै झुट्टा आरोप लगाएका थिए । अन्धविश्वासको आडमा आक्रोशित बनेको भीडले पीडित महिलालाई घरैबाट तानेर सार्वजनिक रूपमा गालीगलौज, लछारपछार र सामूहिक कुटपिट गरेको थियो। सोही क्रममा पराकाष्ठा नाघ्दै पीडितलाई अमानवीय तवरले मलमूत्र खुवाइएको प्रहरीले पुष्टि गरेको छ।

घटना सार्वजनिक भएलगत्तै दोषीहरू फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक (डिएसपी) एवं सूचना अधिकारी विष्णु प्रदीप बस्यालले पक्राउ परेका माझीमाथि ‘बोक्सी आरोप (कसूर तथा सजाय) ऐन’ अन्तर्गत हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । “एकल र समाजमा कमजोर रहेकी महिलामाथि भएको यो अत्याचार अक्षम्य छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान भइसकेकाले उनीहरूलाई चाँडै कानुनी दायरामा ल्याइनेछ,” डिएसपी बस्यालले भने ।

२१ औँ शताब्दीमा समेत तराई-मधेसका कतिपय ग्रामीण भेगमा एकल, गरिब र सीमान्तकृत महिलाहरूलाई ‘बोक्सी’ को गम्भीर कुप्रथाको सिकार बनाइने क्रम नरोकिँदा स्थानीय प्रशासनको सचेतना कार्यक्रम र कानुनी कडाइमाथि पुनः प्रश्न चिह्न खडा भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस