विश्व नोमाड गेम्समा नेपाली पहलवान त्रिलोकी यादव पाँचौँ स्थानमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २१, आईतबार (२ घण्टा अघि)
  • ४५ पटक पढिएको
विश्व नोमाड गेम्समा नेपाली पहलवान त्रिलोकी यादव पाँचौँ स्थानमा

जनकपुरधाम, २१ भदौ। नेपाली कुस्ती खेलाडी त्रिलोकीप्रसाद यादवले किर्गिस्तानमा आयोजित छैटौँ विश्व नोमाड गेम्स–२०२६ मा पाँचौँ स्थान हासिल गरेका छन् ।

कुस्ती पहलवानीतर्फ प्रतिस्पर्धा गरेका यादवले इन्डोनेसिया र अफगानिस्तानका खेलाडीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए । सेमिफाइनलमा आयोजक काजकिस्तानका खेलाडीसँग पराजित भएपछि उनी प्रतियोगितामा पाँचौँ स्थानमा सीमित भएका हुन् ।

यादवले पुरुषतर्फ १०० केजीभन्दा माथिको तौल समूहमा नेपालका तर्फबाट प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ८५ देशका खेलाडी सहभागी रहेको र कुस्ती विधामा मात्रै ६५ देशका खेलाडीको सहभागिता रहेको यादवले जनाएका छन् ।

अगस्ट ३१ देखि सेप्टेम्बर ६ तारिखसम्म आयोजना गरिएको विश्वस्तरीय कुस्ती तथा बेल्ट रेस्लिङ प्रतियोगितामा नेपाली टोलीले सहभागिता जनाएको हो । यादवसँगै नेपाली टोलीलाई प्रशिक्षकका रूपमा मुम्ताज अली इद्रिसीले साथ दिएका थिए ।

विश्वस्तरीय प्रतियोगितामा नेपाली खेलाडीले प्रभावशाली प्रदर्शन गर्दै पाँचौँ स्थान हासिल गर्नु नेपाली कुस्तीका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने अवसरले नेपाली खेलाडीको अनुभव र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका थिए । बिदाइ कार्यक्रममा नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी, महासचिव खगेन्द्रबहादुर बस्नेतलगायत खेल पदाधिकारीको उपस्थिति थियो ।

बिदाइका क्रममा खेल पदाधिकारीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका यादवलाई सफलताको शुभकामना दिएका थिए ।

सीमित स्रोतसाधनका बीच नेपाली कुस्ती खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर सहभागिता जनाउँदै आएका छन् । विश्वस्तरीय प्रतियोगिताबाट प्राप्त अनुभवले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई सहयोग पुग्ने विश्वास गरिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस