वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी अतिक्रमण हटाउन नापजाँच सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २२, सोमबार (२ घण्टा अघि)
  • ३५ पटक पढिएको
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी अतिक्रमण हटाउन नापजाँच सुरु

वीरगञ्ज, २२ भदौ। वीरगञ्जको मुख्य सडक फराकिलो बनाउने अभियानअन्तर्गत सडक डिभिजन कार्यालय हेटौँडाले अन्तिम चरणको नाप जाँच सुरु गरेको छ । गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक क्षेत्र विस्तारका लागि बाँकी रहेका अतिक्रमित संरचना हटाउने प्रक्रिया तीव्र बनाइएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सडक विस्तारका क्रममा पहिलो चरणमा गत वैशाख ६ गते प्रारम्भिक नाप जाँच गरिएको थियो । सडकको दायाँ र बायाँ २५–२५ मिटर क्षेत्र खाली गराउने लक्ष्य राखिए पनि विभिन्न स्थानमा संरचनाको अवस्थाअनुसार २२ देखि २३ मिटर क्षेत्रसम्म मात्र खाली गराइएको थियो ।

प्रारम्भिक चरणमा सडक विभागले भत्काएका संरचनाका बाँकी भाग घरधनी स्वयंले हटाउने गरी निश्चित समयसीमा दिएको थियो । तर तोकिएको समयभित्र पनि केही स्थानमा संरचना नहटाइएपछि सडक डिभिजन कार्यालयले शनिवारदेखि पुनः नाप जाँच गरी बाँकी अतिक्रमित क्षेत्र खाली गराउने प्रक्रिया अघि बढाएको हो ।

वीरगञ्जको मुख्य सडक विस्तार अभियानअन्तर्गत अधिकांश निजी तथा व्यावसायिक संरचना हटाउने काम लगभग सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । हाल एकाध भवनबाहेक मुख्य सडक क्षेत्रमा रहेका अधिकांश संरचना भत्काइसकिएको छ ।

अब नेपाली सेनाको ब्यारेक, वीरगञ्ज महानगरपालिकाको प्रयोगशाला, प्रहरी कार्यालय तथा केही मन्दिर र मस्जिदका संरचना हटाउन बाँकी रहेका छन् । सम्बन्धित निकायसँग समन्वय गरी ती संरचनाको व्यवस्थापन तथा सडक विस्तारको बाँकी काम अघि बढाइने सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडक विस्तारको काम सम्पन्न भएपछि वीरगञ्जको मुख्य सडक थप फराकिलो, व्यवस्थित र सुरक्षित हुने अपेक्षा गरिएको छ । यसबाट बढ्दो सवारी चाप व्यवस्थापनमा सहजता आउनुका साथै नगरको सौन्दर्य, यातायात व्यवस्थापन तथा आवागमनमा समेत सुधार हुने विश्वास गरिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस