वीरगञ्जको यूथ केयर फाउन्डेसनमाथि नियम उल्लंघनको आरोप, प्रशासन मौन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २२, शुक्रबार (४ महिना अघि)
  • १०५ पटक पढिएको
वीरगञ्जको यूथ केयर फाउन्डेसनमाथि नियम उल्लंघनको आरोप, प्रशासन मौन

वीरगञ्ज, २२ जेठ। वीरगञ्ज महानगरपालिका–१२ मुर्ली बगैँचामा अवस्थित यूथ केयर फाउन्डेसन कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेको आरोप लागेको छ । स्थानीय स्रोतहरूका अनुसार करिब तीन वर्षदेखि सञ्चालनमा रहेको उक्त संस्थाले आवश्यक अनुमति तथा कागजातबिना गतिविधि सञ्चालन गर्दै आएको पाइएको हो ।

स्रोतका अनुसार संस्थाका सञ्चालक वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी प्रजवलराज सिंहविरुद्ध मुद्दा दर्ता भएको र त्यसयता उनी सम्पर्कविहीन रहेका छन् । प्रहरीले उनलाई खोजतलास जारी राखे पनि उनी पक्राउ पर्न सकेका छैनन् । यद्यपि उनी वीरगञ्ज मै लुकेर बसेको स्रोतको दाबी समेत छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले विभिन्न समयमा संस्थाका सञ्चालकलाई आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिए पनि सिंहले निर्देशनको पालना नगरेको आरोप समेत लागेको छ ।

त्यस्तै, यूथ केयर फाउन्डेसनको केन्द्रीय कार्यालयले समेत मुर्ली बगैँचास्थित शाखा बन्द गर्न सूचना जारी गरेको छ । केन्द्रीय कार्यालयका अनुसार वीरगञ्जमा रहेको कार्यालयले आफूहरूको नामलाई दुरुपयोग गर्दै अवैध तरिकाले सुधार केन्द्र चलाइरहेको छ । तर उक्त शाखाले सो निर्देशन कार्यान्वयन नगरी गतिविधि जारी राखेको छ ।

हाल संस्थामा करिब ३० जना विद्यार्थी बसोबास तथा अध्ययनरत रहेको बताइएको छ । स्थानीयवासीहरूले संस्थाको कानुनी हैसियत, सञ्चालन अनुमति तथा आवश्यक कागजातबारे सम्बन्धित निकायले यथाशीघ्र छानबिन गरी स्पष्टता ल्याउनुपर्ने माग गरेका छन् ।

यस विषयमा जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगञ्ज महानगरपालिका तथा संस्थाका सञ्चालकको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।

स्थानीयवासीहरूले नियमनकारी निकायले आवश्यक कदम नचालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले संस्थाको सञ्चालन प्रक्रियाबारे पारदर्शी छानबिन र आवश्यक कारबाहीको माग गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस