
काठमाडौं, २१ साउन। वीरगञ्ज महानगरपालिकाले सवारी करमा गरेको वृद्धिको विरोध गर्दै वीरगञ्जका बस तथा ईभी (विद्युतीय सवारी) व्यवसायीहरूले चक्काजामको घोषणा गरेका छन्।
व्यवसायीहरूको आरोपअनुसार महानगरपालिकाले यसअघि प्रति सवारी ५६ रुपैयाँ लिँदै आएको कर साउन महिनादेखि बढाएर १५० रुपैयाँ पुर्याएको छ। बिना पर्याप्त छलफल तथा एकपक्षीय रूपमा कर वृद्धि गरिएको भन्दै उनीहरूले निर्णयको विरोध गरेका हुन्।
बस तथा ईभी व्यवसायीहरूले बढाइएको कर तत्काल फिर्ता लिन र पूर्ववत् शुल्क कायम गर्न माग गरेका छन्। उनीहरूका अनुसार करमा गरिएको अस्वाभाविक वृद्धिले सार्वजनिक यातायात व्यवसाय सञ्चालनमा थप आर्थिक भार परेको छ।
व्यवसायीहरूले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन्। आन्दोलनअन्तर्गत चक्काजाम गर्ने निर्णय गरिएको उनीहरूले बताएका छन्।
यता, सवारी कर वृद्धिका विषयमा वीरगञ्ज महानगरपालिकाको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक हुन बाँकी रहेको छ।
