वीरगञ्जमा ३२ लाख लागतको इभी चार्जिङ सेन्टर ६ महिनादेखि अलपत्र

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ५, शुक्रबार (१ घण्टा अघि)
  • ४६ पटक पढिएको
वीरगञ्जमा ३२ लाख लागतको इभी चार्जिङ सेन्टर ६ महिनादेखि अलपत्र

वीरगञ्ज, ०५ असार। वीरगञ्ज महानगरपालिका–६ आदर्शनगरस्थित हजारीमल धर्मशालाको खाली जग्गामा निर्माण गरिएको विद्युतीय सवारीसाधन (इभी) चार्जिङ सेन्टर निर्माण सम्पन्न भएको करिब ६ महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। आवश्यक विद्युत् पूर्वाधारको अभावका कारण चार्जिङ सेन्टर प्रयोगविहीन बनेको हो।

मधेस प्रदेश सरकारको करिब ३२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त चार्जिङ सेन्टर इन्टर ट्रेड नेपालमार्फत निर्माण सम्पन्न गरिएको थियो। तर सञ्चालनका लागि आवश्यक ट्रान्सफर्मर जडान नहुँदा सेवा सुरु गर्न नसकिएको निर्माण कम्पनीका प्रतिनिधि पुष्करराज ठाकुरले जानकारी दिए।

उनका अनुसार आफूले जिम्मेवारी पाएपछि २० दिनभित्रै चार्जिङ सेन्टरको निर्माण कार्य सम्पन्न गरे पनि हालसम्म आवश्यक विद्युत् व्यवस्थापन हुन नसक्दा परियोजना सञ्चालनमा आउन सकेको छैन।

ठाकुरले प्रारम्भमा उक्त चार्जिङ सेन्टर बिपी उद्यान क्षेत्रमा निर्माण गर्ने योजना रहेको बताए। तर स्थान सम्बन्धी विवाद उत्पन्न भएपछि वीरगञ्ज महानगरपालिकाको सिफारिसमा हजारीमल धर्मशालाको खाली जग्गामा निर्माण गरिएको उनले बताए।

चार्जिङ सेन्टर सञ्चालनका लागि करिब ३५० केभीए क्षमताको विद्युत् लाइन आवश्यक पर्ने भए पनि हालसम्म त्यसका लागि आवश्यक ट्रान्सफर्मर जडानको व्यवस्था हुन नसकेको उनको भनाइ छ। “विद्युत् व्यवस्थापन भएको दिनदेखि नै चार्जिङ सेन्टर सञ्चालनमा ल्याउन सकिन्छ,” उनले भने।

विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले निर्माण गरिएको चार्जिङ सेन्टर लामो समयदेखि सञ्चालनमा नआउँदा स्थानीय इभी प्रयोगकर्ता तथा सरोकारवालाहरूले चासो व्यक्त गर्न थालेका छन्। आवश्यक पूर्वाधार व्यवस्थापनमा ढिलाइ हुँदा सरकारी लगानीको उपयोगसमेत प्रभावित भएको देखिएको छ।

स्थानीयवासी तथा सरोकारवालाहरूले सम्बन्धित निकायलाई आवश्यक ट्रान्सफर्मर जडान गरी चार्जिङ सेन्टर यथाशीघ्र सञ्चालनमा ल्याउन आग्रह गरेका छन्। यसले वीरगञ्जमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्न तथा वातावरणमैत्री यातायात प्रणालीलाई प्रोत्साहन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस