
पर्सा, ३१ साउन। पर्साको वीरगञ्ज महानगरपालिका–१५ बाट ५०.७ ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्साको पकाहा मैनपुर गाउँपालिका–४ का २४ वर्षीय सम्साद देवन र बिन्दवासिनी गाउँपालिका–५ का २२ वर्षीय सनप्राज शेख रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट ५०.७ ग्राम खैरो हेरोइन, एक थान मोबाइल र नम्बर नखुलेको एउटा मोटरसाइकल बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
