वीरगञ्ज नाकाबाट ईभी आयातमा तीव्र वृद्धि, १० महिनामा १५ हजारभन्दा बढी सवारी भित्रिए

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १८, सोमबार (५ घण्टा अघि)
  • ४४ पटक पढिएको
वीरगञ्ज नाकाबाट ईभी आयातमा तीव्र वृद्धि, १० महिनामा १५ हजारभन्दा बढी सवारी भित्रिए

वीरगञ्ज, १८ जेठ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै विद्युतीय सवारीसाधन (ईभी) आयातमा उल्लेखनीय वृद्धि भएको छ। समीक्षा अवधिमा ४ अर्ब २ करोड रुपैयाँभन्दा बढी मूल्यका १५ हजार २७१ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ईभी आयातको मूल्य २ अर्ब ३७ करोड रुपैयाँ अर्थात् १४३.६० प्रतिशतले वृद्धि भएको हो। गत वर्ष सोही अवधिमा १ अर्ब ६५ करोड रुपैयाँ मूल्यका ९ हजार ४२ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए।

ईभी आयातसँगै राजस्व संकलनमा पनि उल्लेखनीय सुधार आएको छ। गत वर्ष सोही अवधिमा ८१ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष आयात बढेसँगै राजस्व संकलनमा समेत वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ।

विशेषगरी ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका विद्युतीय कार, जीप तथा भ्यानको आयात उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब ८७ करोड रुपैयाँ मूल्यका ६५७ वटा यस्ता चारपाङ्ग्रे विद्युतीय सवारीसाधन आयात भएका छन्। ती सवारीबाट सरकारले १ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष सोही अवधिमा यस वर्गका केवल ६ वटा सवारीसाधन मात्र आयात भएका थिए।

विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनप्रति पनि उपभोक्ताको आकर्षण तीव्र रूपमा बढ्दै गएको देखिएको छ। समीक्षा अवधिमा १ अर्ब १७ करोड रुपैयाँ मूल्यका ८ हजार ८६७ वटा विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात भएका छन्। यसबाट ३८ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्ष सोही अवधिमा ४ हजार ८३४ वटा विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन आयात भएका थिए।

विद्युतीय सवारीसाधनसँगै इन्धन र विद्युत् दुवैबाट चल्ने सवारीसाधन तथा तिनका पार्टपुर्जाको आयातमा पनि वृद्धि भएको छ। भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा ३१ अर्ब ३१ करोड रुपैयाँ मूल्य बराबरका यस्ता सवारीसाधन र पार्टपुर्जा वीरगञ्ज नाका हुँदै आयात भएका छन्। यो गत वर्षको तुलनामा ९ अर्ब ६५ करोड रुपैयाँ अर्थात् ४४.५८ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा १ अर्ब २५ करोड रुपैयाँ मूल्यका ६२८ वटा परम्परागत जीप, कार र भ्यान आयात भएका छन्, जसबाट ३ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यस्तै, ७ अर्ब ३२ करोड रुपैयाँ मूल्यका ५१ हजार ४२३ वटा अन-एसेम्बल्ड मोटरसाइकल आयात भएका छन्। यसबाट ७ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।

भन्सार तथ्यांकले पछिल्ला वर्षहरूमा नेपालमा विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण तीव्र रूपमा बढ्दै गएको संकेत गरेको छ। सरकारको विद्युतीय सवारीमैत्री नीति, इन्धन खर्चमा बचत तथा वातावरणीय चेतनाको वृद्धिले ईभी बजार विस्तारमा सकारात्मक प्रभाव पारेको सरोकारवालाहरूको भनाइ छ।

ताजा अपडेट

खोजी गर्नुहोस