
वीरगञ्ज, २६ वैशाख। वीरगञ्ज महानगरपालिका ले लामो समयदेखि कारोबार नगरी निष्क्रिय रहेका करिब ९० वटा सहकारी संस्थाको दर्ता खारेज गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
महानगरपालिकाका विभिन्न वडामा रहेका ८८ वटा सहकारी संस्था लामो समयदेखि निष्क्रिय रहेको पाइएपछि ती संस्थामाथि कानुनी प्रक्रिया अघि बढाइएको हो ।
शुक्रबार महानगरपालिकाको आर्थिक विकास महाशाखाले सूचना जारी गर्दै सहकारी ऐन तथा नियमावलीअनुसार बुझाउनुपर्ने मासिक प्रगति प्रतिवेदन, वार्षिक साधारण सभाको निर्णय प्रतिलिपि, वार्षिक लेखापरीक्षण प्रतिवेदन तथा कोपोमिस प्रणालीमा विवरण प्रविष्ट नगरी पूर्ण रूपमा सम्पर्कविहीन रहेका सहकारी संस्थाको दर्ता खारेज गरिने जनाएको छ ।
महानगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिल कुमार कर्ण का अनुसार वीरगञ्ज महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६६ उपदफा ३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको हो ।
त्यसैगरी, ऐनको दफा ६६ को उपदफा ४ अनुसार सुनुवाइका लागि ३५ दिने सूचना प्रकाशित गरिएको उनले जानकारी दिए ।
सूचना जारी भएको मितिले ३५ दिनभित्र महानगरपालिकाको सम्पर्कमा नआउने सहकारी संस्थाको दर्ता स्वतः खारेज गरिने महानगरपालिकाले जनाएको छ ।




