
वीरगञ्ज, १९ जेठ। यातायात व्यवस्था कार्यालय वीरगञ्जको लेखा शाखामा राजस्व संकलन र नगदी रसिद वितरण प्रक्रियामा अनियमितता भएको आरोप सार्वजनिक भएको छ। विभिन्न स्रोत तथा सेवाग्रहीहरूले कार्यालयका केही कर्मचारीहरूको संलग्नतामा दैनिक लाखौं रुपैयाँ बराबरको राजस्व हिनामिना हुने गरेको दाबी गरेका छन्।
स्रोतका अनुसार लेखा प्रमुख दिनेश प्रसाद पण्डितको निर्देशनमा लेखा शाखामा कार्यरत केही कर्मचारी तथा कार्यालय सहयोगीमार्फत सेवाग्रहीसँग अनावश्यक झमेला सिर्जना गरी अतिरिक्त रकम असुल्ने र राजस्व व्यवस्थापन प्रक्रियामा अनियमितता हुने गरेको आरोप लगाइएको छ।
सेवाग्रहीहरूले बैंकमा राजस्व दाखिला गरेपछि नगदी रसिद लिन जाँदा विभिन्न बहाना देखाएर दुःख दिने तथा केही अवस्थामा अतिरिक्त रकम माग्ने गरिएको भुक्तभोगीहरूको भनाइ छ। यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाअनुसार आवश्यक नपर्ने कागजातसमेत माग गरी सेवाग्रहीलाई हैरानी दिने गरिएको आरोपसमेत लगाइएको छ।
स्रोतले केही सेवाग्रही तथा लेखनदाससँग एकमुष्ट रकम संकलन गरी राजस्व दाखिला प्रक्रियामा गडबडी गरिएको दाबी गरेको छ। बैंकमा दाखिला भएको रकम र कार्यालयले जारी गरेको नगदी रसिदबीच फरक देखिने गरेको आरोप पनि सार्वजनिक भएको छ।
यस विषयमा कार्यालयका सूचना अधिकारी टेकविक्रम शाहसँग चालु आर्थिक वर्षको राजस्व विवरणबारे जिज्ञासा राख्दा आर्थिक वर्ष समाप्त भएपछि मात्र विवरण उपलब्ध गराउन सकिने जवाफ आएको बताइएको छ।
यस्तै, सवारी कर निर्धारण प्रक्रियामा समेत अनियमितता भएको आरोप लगाइएको छ। स्रोतका अनुसार लामो अवधिदेखि कर नतिरेका सवारीधनीसँग मिलेमतो गरी सरकारी राजस्वमा क्षति पुर्याउने कार्य भएको हुन सक्ने आशंका व्यक्त गरिएको छ।
आरोप सार्वजनिक भएपछि सम्बन्धित निकायहरू, विशेष गरी मधेश प्रदेश अर्थ मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पत्ति शुद्धीकरण विभागले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उठ्न थालेको छ।
यद्यपि समाचार तयार पार्दासम्म आरोपित कर्मचारी तथा कार्यालय प्रमुखको औपचारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन। आरोपबारे सम्बन्धित पक्षको धारणा प्राप्त भएमा त्यसलाई पनि समावेश गरिनेछ।
